दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा प्रदेश सभा भवन निर्माणको कामलाई तीव्रता दिइएको छ । निर्माण व्यवसायीले गत साउन मसान्त सम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भवनको काम नै अघि नबढेपछि सरकारकै निर्देशनमा अर्का व्यवसायीलाई जिम्मा लगाएर निर्माण तीव्र पारिएको हो ।
त्यस्तै सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत दाङको राप्ती गाउँपालिका ३ मसुरियामा प्रदेश राजधानीका लागि अस्थायी संरचना निर्माण सुरु गरेको छ । मसुरियाको राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभाका लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँको लागतमा भवन निर्माण गर्न थालिएको हो ।
यस्तै फलामको दुई तले भवन साउन मसान्तमा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत वैशाख अन्तिम साता सम्झौता गरेको थियो । तर अहिलेसम्म भवनको १५ प्रतिशत पनि काम नभएपछि मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा व्यवसायी नै परिवर्तन गरेर काम अघि बढाइएको छ ।
त्यस्तै अबको ४५ दिनमा भवन तयार गरेर हस्तान्तरण गर्ने गरी काम भैरहेको निर्माण व्यवसायी यज्ञ केसीले जानकारी दिनुुभयो । अहिले चौबिसै घण्टा डेढ सय भन्दा बढी कामदारले काम गरिरहेको ठेक्दारको भनाई छ । प्रदेश सभाको अहिले वर्षे अधिवेशन चलिरहेको छ । तिहारपछि बैठक बसेर वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ । त्यसपछि भवन तयार गरेर हिउँदै अधिवेशन भालुबाङमै आह्वान गर्ने गरी तयारी भइरहेको प्रदेश सभा सचिवालयका सचिव दुर्ल भकुमार पुनले जानकारी दिनुु भयो ।