दाङ । देउखुरीको गढवा र राजपुरका १५ वटै वडाहरुका समुदायमा आधारित कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चले गढवा गाउँपालिका क्षेत्रमा गरेका कामहरुको मंगलबार गढवा गाउँपालिकाले स्थलगत अनुगमन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष सहजराम यादव,पशु शाखाका प्रमुख अनन्तराज रेग्मी,पशुप्राबिधिक खेमराज चौधरी,कृषि शाखाका प्रमुख कर्ताराम यादव र दक्षिण देउखुरीको संयुक्त टिमले स्थलगत अनुगमन गरि सुझाव संकलन गरेको हो । गढवा गाउँपालिका वडानं. २ महदेवामा जनप्रयास कृषक समूहले गरेको तरकारी खेति,बंगुर तथा बाख्रा पालन र खुद्रा पसलको अनुगमन गरिएको हो भने गढवा ३ गोबरडिहाको जनजागरण कृषक समूह र खैरेनीको जुनतारा कृषक समूहले बंगुर पालन,ब्रोइलर कुखुरा पालन र बाख्रा पालन कार्यक्रमको स्थलगत अनुगमन गरिएको अधिकार मञ्चका अध्यक्ष देवराज कुँवरले बताउनुभयो । यसैगरि गढवा ७ घोराहाको प्रगतिशिल कृषक समूहले गरेको सामुहिक च्याउखेति तथा तरकारी खेतिको पनि टोलीले अनुगमन गरेको हो ।
दक्षिण देउखुरी अधिकार मञ्च र सहकर्मि समाज सुर्खेतको सपोर्टमा गढवा २ महदेवाकी लक्ष्मी चौधरीले किराना पसल र फ्रेसहाउस संचालन गर्नुभएको छ भने बिमला ज्ञवालीले आफ्नो समेत लगानी मिसाएर किराना र फे्रसहाउस संचालन गर्नुभएको पाइएको छ । यसैगरी सोही गाउँकै देवी चौधरीले संस्थाको २० हजार सपोर्टबाट बंगुरपालन गर्नुभएको छ भने संगिता चौधरीले आफ्नो छोरीलाई छात्रबृत्तिकालागि प्रदान गरेको २० हजारबाट बंगुरपालन गरि सबै खर्च चलाउनु भएको छ ।
त्यस्तै गढवा ३ गोबरडिहाकी रामद्धारी कुमाल चौधरी,रुनमति कुमाल र पुतली कुमालले क्रमशः बंगुर,ब्रोइलर र बाख्रा पालन गरेर राम्रो आयआर्जन गर्नुभएको बताउनु भयो । यसैगरी गढवा ७ को प्रगतिशिल कृषक समूहले सामुहिक च्याउखेति र ब्यक्तिगत तरकारी खेति गरेको र सामुहिक खेतिबाटै ४ लाख रकम जम्मा गरेको अनुगमनको क्रममा पाइएको हो ।
सो अवसरमा किसानहरुले आफूहरुलाई आवश्यक पर्ने मलखाद,बिउबिजन र अनुदानका कार्यक्रमबारे गाउँपालिकासंग माग गरेका हुन् । दक्षिण देउखुरीका गढवा र राजपुर गाउँपालिकाका साबिकका सबै गाबिसहरुलाई समेटेर २०६८ सालमा स्थापना भै २०६९ सालमा दक्षिण देउखुरी अधिकार मञ्चले नेपाल सरकारबाट बैधानिकता पाएको अध्यक्ष देवराज कुँवरले बताउनुभयो ।
यस संस्थाको माताहतमा हाल गढवा गाउँपालिकामा १० वटा कृषक समूह,तिनवटा मुल समिति र राजपुरमा २ वटा मुल समिति सहित ११ वटा कृषक समूहहरु संचालित छन् । कुल १ हजार १ सय तिस सदस्यहरु रहेको यो संस्थाको माताहतमा कुल ४८ वटा कृयाशिल समूहहरु रहेको अधिकार मंचका ब्यवस्थापक सपना देवकोटाले जानकारी दिनुभयो । यस संस्थाले बिपन्न र सिमान्तकृत नागरिकहरुलाई केहि आर्थिक सपोर्ट गरि उनिहरुको आयस्तरमा बृद्धि गरि आत्मनिर्भर बन्न पे्ररणा दिदै आएको देबकोटाले जानकारी दिनु भयो ।
अनुगमन टोलीमा गाउँपालिकाको टिम सहित दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर,मुल समितिका अध्यक्ष शोभा रावत,ब्यवस्थापक सपना देवकोटा,लेखाप्रमुख पुजा चौधरी र सामाजिक परिचालक शारदा चौधरी लगायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।