सल्यान । सल्यान जिल्लाको दार्मा गाउँपालिकामा रहेका ३ वटा विद्यालयको भवनहरु ९ बर्षदेखि अलपत्र अवस्थामा रहेका छन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालय,नव सर्वसाधारण मावि र नेरामावि दार्माकोट गरी तीन वटा विद्यालयका भवन निर्माणाधीन अवस्थामै नौ वर्षदेखि अलपत्र परेको पाइएको छ ।
शान्ति मन्त्रालयको अनुदानमा निर्माण गर्न थालिएको विद्यालय भवन मन्त्रालय विघटनसँगै बजेट आउन छाडेपछि लामो समयदेखि अलपत्रमा परेका छन् । शान्ति मन्त्रालयको अनुदानमा सञ्चालित नव सर्वसाधारण मावि र नेपाल राट्रिय मावि दार्माकोटको दुई कोठे भवन पर्खालमा मात्र सीमित रहेका छन् भने नेपाल राट्रिय आधारभूत विद्यालयको भवन छाना हालिसकेको अवस्थामा छ ।
त्यस्तै नव सर्वसाधारण माविको दुई कोठे भवनको लागि १३ लाख, नेपाल राट्रिय माविको भवनको लागि १९ लाख र नेपाल राट्रिय आधारभूत विद्यालयकोे लागि १३ लाख तत्कालीन शान्ति मन्त्रालयले २०६८/०६९ मा बजेट विनियोजन गरिएको थियो । शान्ति मन्त्रालय भंग भएपछि बजेट आउन छाडेकै कारण झन्डै ५० प्रतिशत काम सम्पन्न भएको अवस्थामा रोकिएको विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् ।