दाङ । ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा राष्ट्रिय दलित पत्रकार संघ दाङले सञ्चार, न्याय, सामाजिक तथा आर्थिक विकासमा दलित समुदायको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
संघका अध्यक्ष बसन्त परियारको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्य एवं घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीको विशिष्ट आतिथ्यतामा आज घोराहीमा कार्यक्रम गरिएको छ ।
सो अवसरमा सहभागी वक्ताहरुले दलित र गैर दलित बिचको विभेद अन्त्य गर्न शिक्षा र चेतनाको विकासमा सबैले नेतृत्वदायी भुमिका खेल्न आवश्यक रहेको बताउनु भयो । अहिले पनि टाठाबठा दलितले लाभ लिएर फाईदा उठाउने काम गरेपनि निमुखा दलित उपेक्षामा परेको बताउनुभयो ।
अवस्था र व्यवस्थाका फरक पाटो नछुट्याएर एकै नजरले हेर्दा समाजमा दलित समुदाय थप पीडित बनेका छन् । दलित दलितबिचको विभेदले पनि यसमा नकारात्मक प्रभाव पारेको छ । यस्तै,सबै समुदायलाई सक्षम बनाउन सकियो भने दलितले कोटा र आरक्षण खोज्नु नपर्ने अवस्था सिर्जना हुने वक्ताहरुको विश्वास छ ।
सम्मानजनक ढंगले समाजमा बाँच्न शिक्षा र सचेतनामा पहुँच बढाउन सकिएको खण्डमा सबै समुदायको हित हुने र समतामुलक समाज निर्माण हुने अधिकांश वक्ताहरुको जोड थियो ।