काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न व्यक्तिबाट लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका घर भई हाल ललितपुरको ठेचो बस्ने ३३ वर्षका विकास तामाङ र सोही ठाउँका हरिबहादुर तामाङ रहेका छन् । मोरङको रतुवामाई नगरपालिका घर भई हाल काठमाडौँ बस्ने विक्रम मिश्रसमेत पाँच जनालाई भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स पठाइदिने लोभ देखाएर उनीहरूले नौ लाख ५० हजार ठगी गरेको पाइएको छ । उनीहरूले प्रतिव्यक्ति एक लाख ९० हजार उठाएको प्रहरीले जनाएको छ ।
त्यसपछि उनीहरू फरार रहेका थिए । पक्राउ गरी उपस्थित गराइदिन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि खोजतलास गरी उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
त्यस्तै उनीहरूमध्ये विकासलाई बिहीबार काठमाडौँको चुच्चेपाटीबाट र हरिबहादुरलाई शुक्रबार ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । थप अनुसन्धान गर्न उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइएको छ ।