दाङ । पद्मोदय पब्लिक नमूना माविको ७५ औँ वार्षिकोत्सव एवं हिरक महोत्सव मनाइएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेको प्रमुख आतिथ्यतामा आज एक भव्य समारोहका बीच वार्षिकोत्सव एवं महोत्सव मनाइएको हो ।
सो अवसरमा प्रमुख अतिथि डा. लामिछानेले दाङको शिक्षा क्षेत्रमा यस विद्यालयले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । विद्यालय स्थापनाको ७५ वर्षसम्म आईपुग्दा शिक्षा क्षेत्रमा सो विद्यालयले देशका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने व्यक्तित्व उत्पादन गरेको भन्दै उच्च प्रशंसा गर्नुभयो ।
उहाँले सामुदायिक विद्यालयमा गुणस्तरीयता कायम गर्न शैक्षिक अनुशासन कायम गर्ने काम विद्यालयबाट भएकै कारण धेरै अभिभावकको रोजाई बनेको बताउनुभयो । यस्तै, उहाँले शिक्षामा राजनीतिक हस्तक्षेप गर्न नहुने बताउँदै शैक्षिक उन्नयनमा सबै पक्षको साथ हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला शिक्षा तथा समन्वय ईकाई प्रमुख मित्रप्रसाद गौतमले पश्चिम क्षेत्रको शैक्षिक क्षेत्रको धरोहर यस विद्यालय रहेको भन्दै यसको योगदानलाई राज्यले उच्च मुल्यांकन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विद्यालय प्रधानाध्यापक जैसीले विद्यालयको वार्षिक, आर्थिक प्रतिवेदनसहित शैक्षिक गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।
यसैबीच, विद्यालयले आफ्नो मुखपत्रका रुपमा प्रकाशन गर्दै आएको स्मारिका ‘ज्योत्स्ना’ विमोचन गरेको छ । एक समारोहका बीच विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवकुमार आचार्य र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेसहित शैक्षिक एवं सामाजिक व्यक्तित्वहरुको विशेष उपस्थितीमा विमोचन गरिएको हो । उक्त मुखपत्रका बारेमा साहित्यकार एवं विद्यालयका पूर्व शिक्षक उत्तमकृष्ण मजगैयाले समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष अमर बहादुर खड्का, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षका तर्फबाट दीपेन्द्र कुमार घर्ती, दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, पूर्व प्रधानाध्यापक भुपाल योगी, चन्दादाता धु्रुवकुमार श्रेष्ठ, पूर्व विद्यार्थी नारायण अधिकारी, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, शिक्षक अभिभावक संघका तर्फबाट विश्वराज आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयमा सबै तह गरेर करीव ५ हजार विद्यार्थी अध्ययनरत छन् ।
वार्षिकोत्सवका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरिनुका साथै उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक लोकबहादुर बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक निशान्त आचार्यले गर्नुभयो ।