पर्सा । चलचित्रमा हिरोइन बनाइदिने प्रलोभन देखाएर १५ वर्षीय बालिकालाई भारत लगेर बेच्ने एक भारती यसहित दुईजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको गौर नगरपालिका-२ घर भइ हाल वीरगञ्ज महानगरपालिका-१६ बस्दै आएकी ४० वर्षीय चमेली देवी र भारतको विहार राज्यस्थित सीतामढी जिल्लाको बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारी रहेका छन् ।
भारतमा बेचिएकी बालिकाले दिएको बयानको आधारमा चमेली र रोशन पक्राउ परेका हुन् । चमेली र रोशनले बालिकालाई गत वर्ष माघ महिनामा भोजपुरी फिल्ममा हिरोइन बनाइदिने प्रलोभन देखाएर भारतको विहार राज्यस्थति पूर्वी चम्पारणको झिटकैया गाउँमा लगेर बेचेको प्रहरीले जनाएको छ । उनीहरुले बालिकालाई एक भारतीय नागरिकसँग ३० हजार रुपैयाँमा विक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
त्यस्तै बालिकालाई खरिद गरेका भारतीय नागरिकले उनिसँग जबर्जस्ती विभिन्न वैवाहिक र अन्य कार्यक्रमहरुमा अश्लिल नृत्य गर्न लगाएको र मानसिक यातनासमेत दिन लगाएको गरेको प्रहरीले जनाएको छ । बेचिएको लगभग ५ महिना पछि बालिका त्यहाँबाट मौका छोपी फरार हुन् सफल भइन ।