काठमाडौं । असारमा रोपाइँ कम भए पनि अब रोपाइँ हुने क्षेत्र बढ्ने सरकारले अपेक्षा गरेको छ । मौसमविद्ले भोलिदेखि पानी पर्ने अनुमान गरेकाले अब रोपाइँको क्रम बढ्ने कृषि विभागले जनाएको छ ।
रोपाइँ ढिलो भए पनि उत्पादनमा खासै असर नपर्ने विभाग अन्तर्गतको बाली विकास संरक्षण केन्द्रका प्रवक्ता एवम् वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभएको छ ।
मुख्य धान खेती हुने ठाउँमा असार १५ देखि साउन १५ सम्म रोपाइँ हुने भएकाले ढिलो भएजस्तो लागे पनि असर नपर्ने उहाँको भनाइ छ । यसवर्ष मनसुनमा औसतभन्दा धेरै वर्षा हुने पूर्वानुमान गरिएको भए पनि अहिलेसम्म पर्याप्त पानी पर्न सकेको छैन ।
नेपालमा झन्डै चार महिना मनसुन अवधि रहने भएकाले अझै पानी पर्ने बेला बाँकी नै छ । असार भरिमा देशभर ५५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । गएको वर्ष असारभरिमा ७७ प्रतिशत धान रोपाइँ भएको थियो। लुम्बिनी प्रदेशमा हालसम्म ५३ प्रतिशत रोपाइँ भएको छ ।