ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ ।
चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो ।
फक्ताङलुङ गाउँपालिका – ७ ओलाचुङगोलामा रहेका टिप्ताला नाका बन्द रहेकाले सिन्धुपाल्चोक जिल्लाका तातोपानी नाकाबाट गत साता फक्ताङ्लुङ गाउँपालिकामा स्काभेटर ल्याइपुर्याएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।
तातोपानी नाकादेखि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक सातामा र फुङ्लिङदेखि दुई दिनमा फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा स्काभेटर पुर्याइएको गाउँपालिकाले जनाएको छ । स्काभेटर एक करोड ३५ लाख रुपैयाँ बराबरको रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताए ।
त्यस्तै उनका अनुसार चीनदेखि नेपाल ल्याउनका लागि लाग्ने भन्सार शुल्क २५ लाख रुपैयाँ नेपाल सरकारले छुट दिएको छ । नेपाल सरकारले भन्सार शुल्क छुट दिएसँगै तातोपानी नाकादेखि ढुवानी शुल्क मात्र गाउँपालिकाले बेहोर्नुपरेको अध्यक्ष लिम्बूले बताए। स्काभेटर गाउँपालिका पुगेसँगै गाउँपालिकाभित्रका सडक मर्मत गर्न थालिएको छ । निरन्तर वर्षाका कारण सदरमुकाम फुङ्लिङदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएको थियो ।
ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दैनिक सवारीसाधन चलाउने व्यक्तिले सास्ती खेप्दै आएका थिए तर अहिले स्काभेटरले सडक मर्मत गर्न थालेसँगै दैनिक यातायातमा सहजता आएको गाउँपालिकाले जनाएको छ ।