दाङ । हिन्दु धर्मावलम्बीहरुको पर्व श्री कृष्ण जन्माष्टमीको अवसरमा नेपाल मानव भर्म सेवा समिति घोराहीले शुक्रबार कृष्णजन्माष्टी महोत्सव सम्पन्न गरेको छ ।
नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती क्षेत्र प्रभारी महात्मा चाँदनी वाइजीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी भक्ति साधनाका साथ कृष्ण पूजन र प्रवचन पनि गरिएको थियो । प्रमुख अतिथि रेग्मीले समाजमा बढ्दो भोगविलासका कारण मानिसमा धर्म,संस्कार, संस्कृति कमजोर बन्दै गएको बेला यस प्रकारका पर्वहरुले मानिसमा भक्तिभाव पैदा गर्ने हुँदा धार्मिक तथा सांस्कृतिक संरक्षणमा सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
त्यस्तै भौतिकवादमा लिप्त हुँदै गएको समाजमा मानवता हराउँदै जान थालेको भन्दै अभिभावकले आफ्ना बालबालिकालाई हसल संस्कार र शिक्षा दिन बढी ध्यान दिनुपर्ने बेला आएको नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती क्षेत्रका उपाध्यक्ष तेजनारायण कँडेलले बताउनुभयो । भक्तिसा धनासहितको भजनकीर्तनमा जिल्लाका विभिन्न स्थानबाट सहभागीता जनाउनुभएको थियो ।
बालबालिकालाई कृष्णजन्माष्टमीका दिन राधा र कृष्ण बनाएर सजाए सरह उनीहरुको जीवनमा पनि राधा कृष्ण बन्न सक्ने गरी असल संस्कार र ज्ञान दिनुपर्ने नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती क्षेत्रका प्रचारिका चन्द्रकान्ता वाइजीले प्रवचन दिनुभयो । समारोहमा हिन्दु विद्यापीठ नेपालका शिक्षक पिताम्बर रिजाललगायतले भनाई राख्नु भएको थियो ।
यस्तै जन्माष्टमी महोत्सवमा हिन्दुविद्यापीठका अस्मिता वली, सब्रिना थापा,नेपाल मानव धर्म सेवा समिति तुलसीपुर शाखाका आरोही र नित्या लगायतले नृत्य प्रस्तुत गरेका थिए । ज्योतिष डमरुप्रसाद निरौलाको स्वागत मन्तव्यबाट शुरुभएको समारोहको सहजीकरण सिन्धु रिजालले गर्नुभएको थियो ।