आश्विन १३ गते-मंगलबार,काठमाडौं । कोरोना संक्रमणबाट विश्वभरि १० लाख जनाले ज्यान गुमाएका छन् ।चीनको वुहानबाट गत वर्ष शुरु भएको कोरोना महामारी विश्वव्यापी बनेसँगै मृत्यु हुनेको संख्या बढेको थियो ।पछिल्लो तथ्यांक अनुसार संसारभरी ३ करोड ५० लाख भन्दा बढी मानिसमा संक्रमण देखिएको छ ।यी मध्ये १० लाख भन्दा बढीको मृत्यु भएको छ भने दुई करोड ४८ लाख भन्दा बढी निको समेत भएका छन् ।संक्रमणको सबैभन्दा उच्च रुप अमेरिकामा देखिएको छ । दोश्रो उच्च संक्रमित हुने देश भने भारत रहेको छ । भारतमा पछिल्लो समयमा भने संक्रमणको दरमा कमी देखिन्छ ।अमेरिकामा ७३ लाख भन्दा बढीमा कोरोना देखिएको छ । भारतमा भने ६१ लाख भन्दा बढी संक्रमित भइसकेका छन् ।
यद्यपी यी सरकारले सार्वजनिक गरेका तथ्यांक हुन । कोरोनाका तथ्यांक लुकाएको भनेर सरकारहरुको आलोचना समेत भइरहेको छ ।कोरोनाले १० लाखको ज्यान लिएपनि आजसम्म यसको उपचार र नियन्त्रणका लागि औषधी या खोप भने बन्न सकेको छैन । विश्वका दर्जन बढी कम्पनीहरु कोरोना खोपको अनुसन्धानमा लागेका छन् । तर कुनै पनि कम्पनीले तेश्रो र अन्तिम चरणको परीक्षण भने पुरा गरेका छैनन् ।
कोरोना संक्रमण ह्वात्तै बढेपछि चीनले भने शुरुमा नै प्रभावकारी कदम चाल्दै यसको नियन्त्रण गर्न सफल भएको थियो । तर चीनले संक्रमण नियन्त्रण गरिसक्दासम्म कोरोनाले यूरोप र अमेरिकालाई प्रभावमा ल्याइसकेको थियो ।
शुरुका दिनमा विश्वका जनता तथा सरकारहरुले यसलाई सामान्य संक्रमणको रुपमा लिएको कारण स्वास्थ्य सजगता र यसविरुद्धको रणनीति निर्माण गरिनसक्दै जनसंख्याको ठूलो हिस्साबाट यसबाट प्रभावित बनिसकेको अवस्था देखियो ।
संक्रमणले भयानक रुप लिएसँगै यसको असर विश्वकै अर्थतन्त्रमा समेत परेको छ । १० लाख मानिसको मृत्यु हुनु त्यति सामान्य घटना होइन । कतिपय देश आर्थिक मन्दीको अवस्थामा पुगेका छन् । कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गर्नुपर्ने अवस्थाका कारण उत्पादन र सेवा क्षेत्रको अर्थतन्त्रमा यसको उल्लेख्य असर परेको हो ।
अहिले १० लाख जनाको मृत्यु हुनु समेत अर्थतन्त्र र समाजका लागि ठूलो क्षति हो । यसको भपाई या क्षतिपूर्ति गर्न दशकौं लाग्ने अर्थशास्त्रीहरु बताएँछन् ।
कोरानो महामारीसँगै यसलाई लिएर राजनीति गर्ने क्रम समेत बढेर गएको छ । अमेरिका र चीनबीचको सम्बन्ध झनै तनावपूर्ण बनेको छ । यता भारतले भने कोरोना नियन्त्रणमा सरकारको असफलता ढाकछोप गर्न र जनताको ध्यान यसबाट हटाउन चीनसँगको सीमा क्षेत्रमा तनाव सिर्जना गर्न पुगेको आरोप कतिपयले लगाएका छन् ।