दाङ । वडा प्रहरी कार्यालय लमहीले लमही क्षेत्रका विद्यालयहरुमा सचेतनामुलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाएको छ ।
प्रहरीले यहाँका सामुदायिक र निजि विद्यालयमा पठनपाठन गर्दै आएका विद्यार्थी र शिक्षक / शिक्षिकाहरुलाई विद्यालयमै पुगेर चेतनामूलक प्रशिक्षण दिदै आएको छ । यसैबीच सोमबार वडा प्रहरी कार्यालय लमहीले सनलाईट मोर्डन माध्यामिक विद्यालयमा सचेतना कार्यक्रम गरेको छ ।विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई लागु औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रममा लागु औषध दुर्ब्यसनी भनेको के, दुर्ब्यसनीको कारण तथा त्यसले समाज र ब्यक्तिगत जीवनमा पार्ने दीर्घकालीन असरको बारेमा उपस्थित सबैलाई जानकारी गराइएको थियो ।
वडा प्रहरी कार्यालय लमहीमा प्रहरी निरीक्षक श्रेष्ठ आएदेखि आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रणका कामले तिब्रता पाएका छन । वडा प्रहरी कार्यालय लमहीद्वारा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न जेष्ठ महिनाको सुरक्षा योजना निर्माण गरि सो बमोजिम टोल-टोल र विद्यालयस्तरमा यस्ता खाले जनचेतनामूलक कार्यक्रम सञ्चालन भैरहेका छन ।
पछिल्लो समय युवा तथा वयस्क उमेरका मानिसहरु अत्याधिक मात्रामा लागुऔषधको दुर्ब्यसनीमा फसेको तथ्याङ्कमा देखिएको र आम नागरिकको गुनासो बढ्दै गएको छ । सोही गुनासोका आधारमा सम्बोधन गर्न प्रहरीले लागु औषधको सेवन तथा कारोबार गर्ने माथि कानून बमोजिम दण्डित गर्न र युवाहरुलाई दुर्ब्यसनीमा फस्नबाट रोक्न जनचेतनामूलक कार्यक्रमलाई बिशेष प्राथमिकता दिंदै आएको छ ।
यस्तै कार्यक्रम मार्फत समाजलाई लागु औषध दुर्ब्यसनीबाट मुक्त गराउने नेपाल प्रहरीको मुख्य उदेश्य रहेको छ । कार्यक्रममा झण्डै एक सय जनाको सहभागिता रहेको थियो भने सचेतनामूलक कार्यक्रमको सहजीकरण प्रहरी निरीक्षक शंकर श्रेष्ठले गर्नु भएको थियो ।