दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवामा रहेको शिवसबरी धाम धार्मिक केन्द्रमा साउन २६ गतेदेखि २८ गतेसम्म सञ्चालित त्रिदिवसीय श्रृङ्गारिक महाआरती तथा एक दिवसीय शिव कथा उत्सव प्रवचनको पहिलो दिन श्रृङ्गारिक महाआरतीको शनिबारदेखि सुरु गरिएको छ ।
शिव सवरी धामको प्रचारप्रसार तथा भगवान शिव र पार्वतीको विभिन्न आकृतिका मुर्तीहरू निर्माणका लागि महाआरती तथा शिवकथा लगाउन थालिएको धामकी संरक्षक गुरु शिवलक्ष्मी चाैधरीले जानकारी दिए । यसै बीच महाआरती तथा शिवकथा उत्सव प्रवचनको आज उद्घाटन गरिदै छ । सो महाआरती तथा शिवकथा उत्सव प्रवचनको उद्घाटन प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले गर्ने भएका छन् ।
त्यस्तै आज बेलुका ७ बजेदेखि सुरू हुने उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण भक्तजनहरूलाई धामकी संरक्षक गुरु शिवलक्ष्मी चाैधरीले आग्रह गरेकि छिन् । कार्यक्रममा शिवकथा प्रवचनमा प्रमुख कथा वाचक व्यासाचार्य गुरु परशुराम पाण्डेय र श्रृङ्गारिक महाआरती प्रमुख तथा उपवाचक गुरु मोहन शर्मा रहेका छन् । महाआरती तथा शिवकथा भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।