दार्चुला । दार्चुलाको शैल्यशिखर–६ बगलेकमा आज बिहान जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको म१ ज ३३८ नम्बरको जिप आज बिहान करिब ४ बजेतिर दुर्घटनामा परेकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा शैल्यशिखर– ५ लेकगाउँका ३० विरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर–९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखक, बैतडीको डिलासैनी गाउँपालिका– ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय विरेन्द्र बोहराको पनि मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा २ जना भारतीय नागरिक पनि रहेको दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा भारतको उत्तर प्रदेशका मोहम्मद सालीर र मोहम्मद बसीम छन् ।
यस्तै डिएसपी दाहालका अनुसार विरेन्द्र रावल र मिना लेखकको अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो । घाइते चार जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको प्रहरीले जनाएको छ ।