दाङ । देउखुरीको गढवा गाउँपालिकामा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिका अधिकार, समस्या र अपाङ्गता परिचयपत्र सम्बन्धी एकदिने जानकारी मुलक गोष्ठी सम्पन्न भएको छ।
एकदिने गोष्ठीमा बोल्दै गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई दिने परिचयपत्र ग र घ बाट भत्ता नपाउने कानुनी प्रावधान भएको बताउदै अपाङ्गता भएकाहरुलाई परिचय पत्र भत्ताको लागि मात्र नभएको प्रष्ट पारे । अपाङ्गता भएका कतिपयले त मेरो क र ख को परिचय पत्र बनाई दिनु पर्यो भनेर अनुरोध गर्ने गरेको बताउदै वडाध्यक्ष आले मगरले कसैले सिफारिस र अनुरोध गर्दैमा क र ख बर्गको परिचयपत्र बनाएर भत्ता खुवाउन नसक्ने बताए ।
वडाध्यक्षले भनेर सिफारिस गरेर क र ख बर्गको परिचयपत्र बन्ने र भत्ता खान मिल्ने भ्रममा बाट मुक्तहुन अनुरोध समेत गरे । क र ख परिचयपत्र पाउने सरकारी प्रावधान अनुसार स्वतः पर्ने कसैको अनुरोन र सिफारिस आवश्यक नपर्ने वडाध्यक्ष मगरले बताए । पहिले स्थानीय तह नहुदा त्यस्तो गलत कार्यहरु धेरै भनेको स्मरण गर्दै वडाध्यक्ष आलेमगरले अब भने कानुन भन्दा दायाँबायाँ गर्न नसकिने र नहुने बताए । अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र बाट भत्ता खाने मात्र नभई अन्य थुप्रै सेवा सुविधा लिन सक्ने बताए ।
गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको अध्यक्षतामा भएको गोष्ठीमा गढवा गाउँपालिकामा रहेका अपाङ्गता भएका ४१ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ की वडासदस्य निर्मला परियार, अपाङ्गता मानवअधिकार तथा सरोकार मञ्च घोराही दाङका सदस्य तुल्सीराम ओली, गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा लगायतको सहभागिता रहेको थियो।
त्यस्तै कार्यक्रममा अपाङ्गता भएकाहरुको अधिकार, समस्या र अपाङ्गता परिचयपत्र सम्बन्धी गढवा गाउँपालिकाका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गरेकि थिइन् ।