दाङ । मंगलवार राजपुर गाउँपालिकाको जनप्रतिनिधीहरु सहितको टिम दिनभरजसो वडा नम्बर ४ रोहिनीया, दुलैया र खाल्सा गाउँमा किसानहरुको खेतवारी र गोठमा स्थलगत अनुगमनमा पुगेको छ ।
समुदायमा आधारित कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चको आव्हानमा पालिकाका अध्यक्ष,उपाध्यक्ष, कृषि,पशु,महिला वालवालीका र सूचना प्रबिधि शाखाका प्रमुख र वडा अध्यक्षहरु समेतको टिमले किसानहरुले गरेको तरकारी खेती, बंगुर,बाख्रा खोर,ब्रोइलर पालन ब्यवसायको अध्ययन अबलोकनमा किसानहरुका घर–घरमा पुगेको हो ।
गाउँपालिकाका जनप्रचिनिधिहरु भोट माग्न मात्र घरमा आउँथे, यसरी हामी किसानहरुले गरेको खेतिपाती हेर्न कृषि तथा पशु शाखाका प्रमुखहरु लिएर अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष समेत घर आँगनमै आईपुग्दा खुसी लाग्यो–राजपुर ४ खाल्साका बाख्रा पालक किसान चित्रकला पुनले भनिन् । दक्षिण देउखुरी अधिकार मञ्चले दिएको खोर सुधारको अनुदानबाट बंगुर पालन ब्यवसाय गर्दै आउनु भएकी राजपुर २ रोहिनीयाकी पुष्पा चौधरीले बंगुर बेचेर घर खर्च धानेको बताइन् ।
संस्थाको सानो लगानीको सपोर्टले खोर बनाई बंगुर र बाख्रा पालन संगै तरकारी खेति समेत गर्न सकेकी छु,मलाई घर परिवार पाल्ने जिविकोपार्जनको प्रेरणाको स्रोत बनेको छ–उनले भनिन् । चौधरी संगै रोहिनीया,दुलैया र खाल्सा गाउँका २३ घर परिवारलाई दक्षिण देउखुरी अधिकार मञ्चले गोठ सुधारका लागि जनही ५ हजारका दरले सहयोग गरि पशुपालन र कृषि उत्पादनमा प्रेरीत गरेको अध्यक्ष देवराज कुँवरले बताए ।संस्थाले गढवा र राजपुर गाउँपालिकाका १५ वटा वडाहरुमा बिपन्न र सिमान्तकृत समुदायका २ हजार बढी सदस्यहरुलाई समावेश गरि ४८ वटा समुहहरु मार्फत आयआर्जन र जिविकोपार्जन सुधारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको अध्यक्ष कुँवरले बताए । यस बाहेक सामुदायिक समूहका सदस्यहरुलाई बाख्रा पैंचो कार्यक्रम, आयआर्जनका लागि घुम्तिकोष वितरण, सुधारिएको धुँवा रहित चुल्हो निर्माण, सिमान्तकृत वर्गका समुदायका छोरीहरुलाई छात्रबृत्ति कार्यक्रम, बाख्रा, बंगुर र कुखुरा पालन, तरकारी खेति तथा किराना पसल सञ्चालनमा अनुदान तथा घुम्तिकोष परिचालन गर्दै आएको मञ्जले जनाएको छ ।यसैबिच मंगलवार संस्थाका अध्यक्ष देवराज कुँवरको अध्यक्षता र राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि २३ जना बाख्रा तथा बंगुर पालक किसानहरुलाई ५ हजारका दरले १ लाख १५ हजार रकम वितरण गरिएको छ ।कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकामा रहेका बिपन्न र सिमान्तकृत वर्गका नागरिकहरुलाई दक्षिण देउखुरी अधिकार मञ्चले उदाहरणिय काम गरि पालिकालाई समेत टेवा पुर्याएको बताए । कार्यक्रममा उपाध्यक्ष धनपति यादवले आफू दक्षिण देउखुरी अधिकार मञ्चमा आवद्ध भएरै जनप्रतिनिधी बन्न सफल भएको भन्दै संस्थाका हरेक सकारात्मक कामहरुमा पालिकाको र आफ्नो साथ सहयोग रहने बताइन् ।कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी, वडा अध्यक्ष रामेश्वर यादव,पशुपंक्षि तथा मत्स्य बिकास शाखाका प्रमुख डा.दिपक नेपाली,कृषि बिकास शाखाका प्रमुख रिता भण्डारी,महिला तथा वालवालीका शाखाकि प्रमुख सुनिता चौधरी,सूचना प्रबिधि शाखाका प्रमुख शरद रेग्मी लगायतले बोलेका थिए । एकता कृषि समूहका अध्यक्ष सविता चौधरीको स्वागत मन्तब्यबाट अगाडी बढेको कार्यक्रमको संचालन दक्षिण देउखुरी अधिकार मञ्चको कार्यालय प्रमुख पूजा चौधरीले गरेकी थिइन् ।