दाङ । गढवा गाउँपालिका स्थित पौष्टिक कृषि सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा शुक्रवार गढवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मोहन चौधरीको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर ६ का जनप्रतिनिधी दिनमणी आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सचिवले संस्थागत प्रतिवेदन तथा बार्षिक निती कार्यक्रम र कोषाध्यक्ष टोपलाल सुवेदी( सागर) ले आयब्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं गाउँपालिकाका शिक्षा समिति सदस्य आचार्यले सहकारी संस्थामा सबै शेयर सदस्यहरुको अपनत्व वोध हुनेगरी स्वच्छ र पारदर्शि ढंगले काम गर्न आग्रह गरे । सहकारी ऐन, नियमावली र सिद्धान्त बमोजिम सबै सहकारीहरुले शेयर सदस्यमुखि कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै पौष्टिक कृषि सहकारीले किसानहरुलाई सहज ढंगले मलखादको आपुर्ति गरि गढवा क्षेत्रमा सकारात्मक काम गरेको उल्लेख गरे ।
कार्यक्रममा गैह्र सरकारी संस्था महासंघ लुम्बिनीका सदस्य उमाकान्त पन्त,संस्थापक अध्यक्ष हुमाकान्त सुवेदी,सल्लाहकारहरु रुमा अर्याल र खुमानन्द पोखे्रल लगायतले शुभकामना मन्तब्य राखेका थिए । साधारणसभामा उत्कृष्ट बचतकर्ताका रुपमा चन्द्रमाया पोखे्रल र उत्कृष्ट ऋणीको रुपमा लक्ष्मण पराजुलीलाई सम्मान गरिएको थियो भने सहकारी स्थापना देखि हालसम्म योगदान गर्नुहुने संस्थापक अध्यक्ष हुमाकान्त सुवेदी र सचिव उमाकान्त पन्तलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष लिलाधर आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव पटवारी यादवले गरेका थिए । उक्त सहकारी संस्थामा हालसम्म २६७ जना शेयर सदस्यहरु रहेको र यसबर्ष १७ लाखको कारोवार गरेको कार्यक्रममा जानकारी गराईएको थियो ।