दाङ । ईलाका प्रहरी कार्यालयको अत्याधुनिक सुवि धासम्पन्न नवनिर्मित भवनकाे मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र भएको स्थान र यहाँको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर ईलाका प्रहरी कार्यालयको स्थापना गरिएको बताए । उनले निकट भविस्यमा डिएसपीको नेतृत्व हुनेगरी अहिले प्रहरी निरीक्षकलाई खटाउने विश्वास दिलाए । प्रहरी अतिरिक्त महानिरीक्षक राईले सडक दुर्घटना,लागुऔषध दुर्वेसन,यौनजन्य क्रियाकलाप, आत्महत्या जस्ता समस्यालाई निराकरण गर्न प्रहरीले आफ्नो भूमिकालाई प्राथमिकतामा राखेको बताए ।त्यस्तै उनले प्रहरी सेवाको प्रभावकारिता बढाउन राम्रो भौतिक संरचना आवश्यक रहेको धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक राईले प्रहरी सेवाको प्रभावकारिता बढाउन राम्रो भौतिक संरचना आवश्यक रहेको बताए । उनले प्रहरी संगठनको सशक्तीकरण र जनसुरक्षाका लागि सरकारले निरन्तर योगदान दिइरहेको उल्लेख गरे ।
नयाँ भवन नेपाल सरकारको नियमित बजेटबाट निर्माण गरिएको हो । कार्यालय, ब्यारेक, संचार शाखा तथा प्रहरी प्रमुखको निवास रहेको यो भवन चार करोड ४८ लाख २५ हजार रुपैयाँको लागतमा तयार गरिएको छ । सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार ठेक्का सम्झौता भएको निर्माण कम्पनीले २०७९ मंसिर १३ गतेदेखि निर्माण कार्य सुरु गरी २०८१ साउन २७ गते सम्पन्न गरेको हो ।
कार्यालयभित्र प्रहरीका लागि आवश्यक सबै संरचनाहरू छन् । भवनको तल्लो भागमा कार्यालयका लागि सात कोठा छन् । पहिलो तलामा प्रहरी कर्मचारीका लागि ब्यारेक बनाइएको छ, जसमा महिला प्रहरीका लागि छुट्टै शौचालय र स्नानगृहको व्यवस्था गरिएको छ । माथिल्लो तलामा प्रहरी प्रमुखको निवास,संचार शाखा तथा अन्य आवश्यक कोठाहरू छन् । यस्तै, छुट्टै भान्सा घर र शौचालयको निर्माण गरिएको छ ।
त्यस्तै भवन उद्धाटन समारोहमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष कृष्णप्रसाद लम्साल र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा ईलाका प्रहरी कार्यालयलाई जग्गा उपलब्ध गराउने जग्गादाताहरु र निर्माण व्यवसायलाई सम्मान समेत गरिएको थियो ।यस्तै उद्धाटन कार्यक्रममा प्रहरी अधिकृत, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, पत्रकार तथा स्थानीयको कार्यक्रममा उपस्थिति थियो । प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेकाे कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक अम्मर माझीले गरेका थिए ।