काठमाडौँ । नेविसंघले निर्वाचन गराउनुपर्ने माग राख्दै आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको छ । आरआर गेट अगाडि भेला भएका नेविसंघ नेता कार्यकर्ताले निर्वाचनको माग गर्दै आज नाराबाजी गरेका हुन् ।
त्यस्तै उनीहरूले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन् । क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भन्दै कलेज प्रशासनले आज बिहान निर्वाचन स्थगित गरेको थियो ।
यस्तै सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ । सत्तारुढ एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति क्याम्पसमा तालाबन्दी गरेको थियो ।
त्यस्तै निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै अखिलका सम्बन्धित पदाधिकारीले विज्ञप्ति जारी गरेका छन् ।