दाङ । घोराही उपमहानरपालिका १४ की प्रेमकुमारी पुनमगर अल्लो उद्योगसँग जोडिएको बर्षौ भएको छ । सीप,जाँगर र हौसल्लाले राम्रो सफलता हाँसिल गर्न सकिदो रहेछ भन्नको लागि धेरै महिलाहरुका लागि उदाहरणको रुपमा प्रेमकुमारी स्थापित हुन सफल भएकी छिन । द्वन्द्वकालको समयमा शिक्षण पेशा छोडी घोराहीमा १८ वर्षदेखी चिनारी महिला साझेदारी अल्लो उद्योग संचालन गर्दै आएकी छिन् ।
त्यस्तै अहिले पनि उद्योग मार्फत स्थानीय कच्चा पदार्थ अल्लोबाट उनले विभिन्न तयारी पोशाक कोट, स्टकोट, विभिन्न प्रकारका टोपी, पछ्यौंरा, जातीय पोशाक, गलबन्दी, सल उत्पादन गर्दै आएको बताइन् । तर कोरोना माहामारीले विभिन्न क्षेत्रलाई चलायमान बनाउन कठिनाई सृजना गरेको समयमा उल्लो व्यवसायमा समेत असर पुग्ने गरेको छ । ५८ वर्षिय पुन मगरले लामो समयको संर्घष पछि आफुलाई सफल उद्यमीको रुपमा स्थापित गराउन सफल भएकी हुन् ।
कोरोना माहामारीले शिर्जना गरेको विपद्का कारण सोचे अनुरुप अल्लोबाट उत्पादन हुने सामाग्रीको विक्रिवितरण हुन सकेको छैन् । जिल्लास्तरमा सञ्चालन हुने विभिन्न मेला, महोत्सवमा अल्लो मार्फत बनाईएका पोसाकहरुको राम्रो व्यापार हुने गरेपनि हालभने सबै बन्द हुँदा व्यवसाय सञ्चालनमा उनलाई समस्या निम्तिएको छ ।
सामान्य रुपमा होलसेल व्यापार हुने गरेको भएपनि पर्याप्त मात्रामा विक्रिवितरण हुन नसकेको उनको भनाई रहेको छ । पुन मगरले दैनिक १७–१८ जना महिलालाई नियमित काम दिदै आएकी छिन भने कतिपय महिलाहरु कोरोना महामारीले खासै व्यापार पनि नहुने हुँदा गाउँतिर गएका पनि आउन सकेका छैनन् ।
अल्लो पकाउने,चर्खाबाट धागो काट्ने, तयारी पोशाक बनाउने लगायतका काम उद्योगमा सबै महिला कामदारले काम गर्छन । विगतमा दुई चार पैसाका लागि पनि श्रीमानसँग हात थाप्नुपर्ने बाध्यतालाई कम गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले उक्त उद्योग संचालन गरेको उनको भनाई छ ।
यस्तै उक्त उद्योगमा आर्थिक अवस्था कमजोर भएका महिला,एकल महिला र क्याम्पस पढ्दै गरेका किशोरीहरुले पनि काम गर्ने अवसर पाईरहेका छन । साँझ विहान घरको काम गरेर बचेको समयको सदुपयोग गर्न पाईने र थोरै भएपनि आर्थिक सहयोग मिल्ने गरेको उक्त उद्योगमा काम गरिरहेकी शरिता विकले बताइन् ।
त्यस्तै श्रीमान गुमाएकी आशा पुन पनि उद्योगमा काम गर्न थालेको धेरै समय भईसक्यो । तर कोरोना संक्रमणका कारण पहिलेको तुलनामा तयार पारिएका सामानहरु विक्रि नहुँदा समस्या भएको उनको भनाई छ । रोल्पाकि विनिता कुमालले पनि क्याम्पस पढदै गर्दा पनि यहि उद्यममा आवद्ध भएकी छिन् । आफैले कमाउन थालेपछि घरपरिवारबाट पैसा मागेर पढ्नुुपर्ने बाध्यता अन्त्य भएको उनको अनुभव छ । प्रेमकुमारीले उद्योगसँगै घोराही नयाँ बजारमा अल्लोबाट बनेको धागो र तयारी पोशाकको पसल समेत सञ्चालन गर्दै आएकी छिन् ।
लुम्बीनी प्रदेशका पहाडी जिल्ला रुकुम, रोल्पा, प्यूठान लगायतका महिलालाई समेत उनले अल्लो धागो खरिदबिक्रीमा संलग्न गराएको बताइन् । अघिल्ला वर्षहरुमा विभिन्न सभा सम्मेलन र कार्यक्रममा उपहार दिनका लागि अल्लोका सामग्रीको धेरै माग हुने गरेको भएपनि कोरोना आएदेखि त्यसको मागपनि घटेको उनको भनाई छ । सरकारले आफ्नौ देशको स्वदेशि उत्पादनलाई प्रोत्साहन गर्न र नागरिकलाई यस क्षेत्रप्रति आकर्षित गर्न सके विदेशको मुख ताकेर बस्ने नपर्ने उनको सुुझाब छ ।
स्थानीय उत्पादनलाई प्रथामिकता दिएको र अल्लो उद्योग सञ्चालन गरेर राम्रो कला प्रस्तुत गरेको भन्दै उद्योग वाणिज्य संघ घरेलु तथा साना उद्योग, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान लगायतबाट उनले सम्मान पाइसकेको बताइन् । प्रेम कुमारीको सफलताले तनमन र बचन खर्चेर मेहनत गर्न सके सफलता र खुसी खोज्न कहिलै टाढा जानु नपर्नेे दरिलो पाठ सिकाएको छ ।