दाङ । उमेरले १ सय १ बर्ष टेकेका गढवा–१ वनबारीका बुदे कुमाल हिडडुल गर्न सक्नुहुन्न । गाउँपालिकाले घरमै आएर जाडोमा स–सम्मान ब्लाङ्केट दिदा उहाँ धेरै खुसी भएको बताउनुभयो । बुदे कुमाल जस्तै गढवा १ कै ८६ बर्षिय गंगादेवि थापा पनि जाडोको बेला गाउँपालिकाले वडा कार्यालयमा बोलाएर कम्बल दिदा खुसी देखिनुहुन्थ्यो ।
गढवा गाउँपालिका वडानं.६.बनकट्टीका ९२ बर्षिय गुरुप्रसाद अहिर र वडानं. ६ कै ९६ बर्षिय कमारी दमाई वडा कार्यालयमा ब्लाङ्केट पाइन्छ भन्ने खबर पाएर लौरो टेकेर आफन्तको साहारामा वडा कार्यालय आउनुभयो । कार्यालयमा आएपछि गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालको हातबाट ब्लाङ्केट पाएँ । जाडोको बेला तातो कब्बल पाउँदा खुसी लागेको छ–उहाँले भन्नुभयो । गढवा ४ का कालिचरण चौधरी ८८ बर्ष पुग्नु भएको छ । वडा कार्यालयमा आएर गाउँपालिकाले कम्बल दिन थालेको खबर थाहा पाएपछि उहाँ हौसिदै वडामा आउनुभयो । आफन्त र लौरोको साहारामा ब्लाङ्केट पाइने खबरले वडा कार्यालयमा आएका उहाँजस्तै धेरै जेष्ठ नागरिकहरु गाउँपालिकाको तर्फबाट ब्लाङ्केट पाउँदा खुसी हुदै घर फर्किनु भएको छ ।
गढवा गाउँपालिकाले चालु आब को बजेटबाट ८५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई वडा कार्यालयहरुमा बोलाएर सम्मान गर्दै ब्लाङ्केट वितरण गरी रहेको छ । पचासी नाघेका जेष्ठ नागरिकहरुको सम्मान स्वरुपःयो कार्यक्रम राखिएको र जेष्ठ नागरिकहरुलाई संझीनु पर्ने सरकारको दायित्व भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो । जस अन्तर्गत वडानं.१ मा १४ जना,वडानं.२ मा ६ जना,वडानं.३ मा १३ जना,वडानं. ४ मा १० जना,वडानं.५ मा २२ जना,वडानं.६ मा १८ जना र वडानं.७ मा ८ जना गरि कुल ९१ जना ८५ बर्ष माथीका जेष्ठनागरीकहरुलाई ब्लाङ्केट वितरण गर्ने योजनाका साथ काम अगाडी बढाई रहेको छ ।
त्यस्तै धेरै जसो वडाहरुमा वितरण गरिसक्यौ,अब २ नम्बर र ७ नम्बरमा बाँकी छ–महिला तथा वालवालीका शाखाका कर्मचारी पे्ररणा चन्दले भन्नु भयो । जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप जाडोमा ब्लाङ्केट वितरणको कार्यक्रम राखेका हौं–गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले भन्नु भयो । वडानं.८ मा भने ८५ बर्ष माथीका जेष्ठ नागरिकहरु नभएका कारण यो बर्ष वितरण गरिएन उहाँले भन्नुभयो ।