बैतडी । बैतडीमा एकै गाउँका चार जना मानिसहरुमा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लाको पाटन नगरपालिका वडा नम्बर ५ वसन्तपुरद्वाराका चार जनामा डेंगु संक्रमण पुष्टि भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए ।
त्यस्तै डेंगु संक्रमण पुष्टि भएका मध्ये एकजना बाहिरबाट आएका र बाँकी गाउँमै बसोबास गर्ने बुझिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए । गाउँमा अरु पनि ज्वरोका बिरामी भएकाले डेंगु संक्रमितको संख्या थपिन सक्ने उनले बताए ।
यस्तै एकै गाउँमा चार जनामा डेंगु संक्रमण पुष्टि भएपछि गाउँमै गएर चेकजाँचको काम गर्ने तयारी भइरहेको छ । पाटन नगरपालिकासँग सहकार्य गरेर डेंगु प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली पठाउने तयारी भएको निरीक्षक भट्टले बताए ।