दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर -८ निम्बुखुट्टीमा सोमबार आजदेखी श्रीमदभागवत धनधान्यान्चल विराट सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
टेङ्नैया बाबा मन्दिरको स्तरउन्नतीका लागि महायज्ञ शुरु गरेको टेङ्नैया बाबा धार्मिक क्षेत्र विकास समितीका अध्यक्ष दिकपाल योगीले जानकारी दिए । यो महायज्ञ मंसिर १७ देखि मंसिर २४ गतेसम्म चल्ने बताइएको छ ।
महायज्ञको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले भगवानप्रतिको विश्वास जोगाउन युवा पुस्ताहरु सक्रिय हुनु पर्ने बताए । टेङ्नैयाको बारेमा लमही नगरपालिकाले विद्यालयको पाठ्यक्रममा समाबेश गरेको रहेछ यो खुशीको कुरा हो, टेङ्नैयाको शक्ति, इतिहास र मान्यताका बारेमा अझै गहिरिएर अध्ययन गरि बाहिर ल्याउनु पर्छ’- मन्त्री न्यौपानेले भने ।
त्यस्तै मन्त्री न्यौपानेले तीन तहको सरकारविच समन्वय नहुँदा काम गर्न गाह्रो भएको बताए । संघीय सरकारसंग समन्वय नभएपनि आफ्नै प्रदेश भित्र काम गर्दा सबै मन्त्रालयहरुबीच समन्वय गरेर काम गर्नु पर्छ भन्ने हाम्राविचमा कुरा चलाएका छौं र यो कुरालाई टुंगोमा पुर्याउने छौं’- उनले भने ।
त्यसैगरी टेङ्नैया बाबा धार्मिक क्षेत्रलाई प्रचारप्रसारमा जोड दिनुपर्छ । धार्मिक स्थलसम्म पुग्नका लागि सडक बाटो नै बनाउनु पर्छ भन्ने छैन ट्रेकिङका लागि पनि योजना बनाएर काम अगाडी सार्न सकिन्छ यतातिर पनि धार्मिक समितिले ध्यान दिनु पर्ने उनको भनाई रहेको छ । बाटो र मन्दिर निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट वजेट विनियोजन गर्ने मन्त्री न्यौपानेले बचन दिएका छन् । साथै यस क्षेत्रका राजनीतिक दलहरुलाई विकासका लागि राजनीति प्रतिस्पर्धा गर्न पनि सुझाव दिएका छन् ।
टेङ्नैया बाबा धार्मिक क्षेत्र विकास समितीका संस्थापक अध्यक्ष डिल्ली बहादुर खड्काले टेङ्नैया बाबा धार्मिक क्षेत्रको विकासका लागि सबै आ-आफ्नो स्थानबाट लाग्नु पर्ने बताए । पुर्वपश्चिम महेन्द्र राजमार्ग हुँदै दाङको चौघेरालाई जोड्दै प्युठानको स्वर्गद्वारीसम्मको सडकलाई जोड्ने गरि सडक निर्माण गर्ने टेङ्नैया बाबा धार्मिक विकास समितिको स्थापना गर्नु मुख्य उदेश्य भएको उनको भनाई छ ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले महायज्ञले धार्मिक विकासमा मद्दत गर्ने बताए । आज र भोलिका पिढीलाई धर्मप्रति आस्था जगाउन र धर्मप्रति विश्वास जगाउन प्रेरित गर्ने कुरामा जोड दिए । टेङ्नैया बाबा धार्मिक विकास समितिको विकासका लागि स्थानीय सरकार सदैव तत्पर रहेको बताइन् ।
लुम्बिनी प्रदेशका सांसद अनुराग खड्काले बोलेर भन्दा गरेर देखाउनु पर्ने समय भएको बताए । अब देश विकासको जिम्मा युवाहरुको काँधमा आएको बताए । सरकारबाट विनियोजन भएको वजेट कार्यान्वयन गर्दा वनले समस्या सिर्जना गरेको भन्दै समस्याको समाधान गर्न वन मन्त्रालयसंग पहल गर्ने बताए ।
टेङ्नैया बाबा धार्मिक क्षेत्र विकास समितीका अध्यक्ष दिकपाल योगीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको महायज्ञको संचालन संस्थापक सचिव यादवनाथ योगीले गरेका थिए । स्वागत मन्तव्य पार्वती गौतमले गरेकि थिइन् । महायज्ञमा भजनकृतन हुने छ भने महायज्ञको वाचकमा सुप्रसिद्द कथा वाचक श्री आचार्य सन्तोष श्यामशरण रहेका छन् ।