दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा मजदुर वर्गलाई लक्षित गरी चार महिने वित्तीय साक्षरता कक्षा सुरु गरिएको छ ।
क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको आयोजना र राप्ती गाउँपालिकाको समन्वयमा सञ्चालनमा आएको उक्त कक्षाको मंगलबार गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शुभारम्भ गरेका हुन् । कार्यक्रममा अध्यक्ष विष्टले मजदुरहरूको जीवनस्तर उकास्न आधारभूत लेखपढ र व्यवहारिक ज्ञान प्रदान गर्न कक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । “आफ्नो कमाइको सही व्यवस्थापन, बचत, लगानी र आर्थिक सुरक्षाको ज्ञानमार्फत श्रमिकहरूलाई आत्मनिर्भर र सशक्त बनाउने हाम्रो उद्देश्य हो,” उनले भने ।
राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीले श्रमिक वर्गले लेखपढ र हिसाबकिताब नजान्दा भोग्नुपरेका समस्याबारे चर्चा गर्दै यस कक्षाले उनीहरूकाे दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।
त्यस्तै उक्त कक्षा कठाहाको सामुदायिक भवनमा सञ्चालन हुनेछ । ३० जना महिला तथा पुरुषहरूको सहभागिता रहेको यस साक्षरता कक्षाको शिक्षण जिम्मेवारी अस्मिता चौधरीले सम्हालेकी छिन् । साे अवसरमा कक्षामा सहभागीहरुलाई शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको थियोे ।