काठमाडौँ । सिन्धुली,महोत्तरी र रङमा भएका छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानाएको छ ।
सिन्धुली,कमलामाई नगरपालिका वडा नम्बर -८ माथिल्लो सिस्नेरीस्थित सडकमा ज.१ ह ४१३१ नम्बरको अटो अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने ३४ वर्षीय हरी माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै महोत्तरी, गौशाला नगरपालिका-२ स्थित उखु खेतमा ना.४ त ७९०९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका-४ रजखोर बस्ने २३ वर्षीया कञ्चन कुमारी महतोको छोरा ४ वर्षीय शिवम् महतोको बुधबार दिउँसो मृत्यु भएको छ । खेतमा उखु लोड गर्न आएको उक्त ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै मोरङ, बेलबारी नगरपालिका-१० चाँदनी चोकस्थित सडकमा चाँदनी चोकबाट बुधबारेतर्फ जाँदै गरेको बेलबारी नगरपालिका १०४/२०८१/८२ नम्बरको सिटीसफारी अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा सिटीसफारीमा सवार सोही नगरपालिका-१० बस्ने ५० वर्षीया मायादेवी राजवंशीको मृत्यु भएको छ ।
त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटीसफारी चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।