बाँके । लुम्बिनी प्रदेश सरकारको बिऊ बिजन प्रयोगशाला बाँके खजुराको आयोजनामा प्रदेश सरकारले तयार गरेको बिउ बिजन ऐन तथा नियमावलीका बारेमा सरकारका अधिकारी र बिउ उत्पादक कम्पनि, सहकारी तथा किसानहरुसंग बाँकेको खजुरामा लुम्बिनी प्रदेश स्तरीय दोहोरो संवाद भएको छ ।
बिऊ बिजन प्रयोगशाला खजुरा बाँकेका बरिष्ठ वालीबिकास अधिकृत शालीकराम गौतमको अध्यक्षता र लुम्बिनी प्रदेश सरकार कृषि, भूमी ब्यवस्था तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख घनश्याम चौधरीको बिशेष आतिथ्यमा कार्यक्रम गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारले आगामी हिउँदे सभामा ल्याउन थालेका बिउ बिजन सम्बन्धि ब्यवस्था गर्न बनेको बिधेयक र बिऊ बिजन सम्बन्धि शंसोधित ऐन तथा नियमावलीका बारेमा सरोकारवालाहरुसंग छलफल चलाई प्राप्त सुझावहरुलाई समेत समावेश गरी प्रदेशसभाबाट पास गरिने योजना रहेको मन्त्रालयका महाशाखा प्रमुख चौधरीले जानकारी दिए । बिउ बिजन प्रयोगशालाले प्रमाणिकरण गरेका स्वदेशी र रैथाने बिऊ बिजनलाई प्राथमिकता दिदै नेपाललाई बिऊ बिजनमा आत्मनिर्भर बनाउने गरी प्रदेश सरकारले ऐन ल्याउन थालेको कार्यक्रममा बताइएको छ ।
कार्यक्रममा सुझाव दिदै बिऊ बिजन उत्पादक सरोकारवालाहरुले नेपाली बिऊबिजनहरु लोपोन्मुख अवस्थामा रहेको भन्दै स्वदेशी र रैथाने बिऊ बिजनलाई प्रवर्धन गर्नेगरी सरकारले ऐन नियमावली बनाउनु पर्ने, तयार गरिएका ऐन तथा नियमावलीलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनु पर्ने, अबैध ढंगले नेपालमा भित्रिने बिदेशी र आयातित बिऊहरु माथी कडा निगरानी गरी नियमन र अनुगमनलाई प्रभावकारीता दिनुपर्ने, किसानहरुको हक हित र गुणस्तरीय कृषि उत्पादनमा टेवा पुग्नेगरी निती निर्माण गरिनुपर्ने, बिऊ बिजन प्रशोधन, भण्डारण, परिक्षण र नियमनलाई ब्यवस्थित बनाउनु पर्ने, बिचौलीयाहरुले एग्रोभेछ मार्फत बिदेशी बिऊ बिक्री गर्ने कार्यलाई नियमन गर्नुपर्ने, बिऊ उत्पादक किसान र कम्पनीहरुलाई सहज ढंगले मलखाद आपुर्ति हुनुपर्ने तथा दण्डसजायँ सम्बन्धि नियमहरु प्रभावकारी बनाईनुपर्ने गरी ऐनको परिमार्जन गर्नुपर्ने लगायतका मागहरु गरेका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लाहरुमाम ३१ वटा बिऊ उत्पादक सहकारी तथा सिड कम्पनीहरु सरकारको सुचिकरणमा रहेकोले मुल बिऊ, प्रजनन् बिऊ, प्रमाणित बिऊ, उन्नत बिऊ, हाईब्रिड बिऊ, स्रोत बिऊ र लेभल बिऊ गरी सबै बिऊहरु तयार गर्दा सबैले कृषि उत्पादन प्रवर्धनमा टेवा पुग्ने किसीमले गुणस्तरीय बिऊहरु उत्पादनमा ध्यान दिन कार्यक्रममा सरकारद्धारा आग्रह गरिएको छ । सो अवसरमा बिऊबिजन सम्बन्धि ऐन नियमावली र बिधेयकको ड्राफ्ट माथी छलफल गरिएको थियो ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय तथा प्रदेश बिऊबिजन प्रयोगशाला, प्रदेश मन्त्रालयका महाशाखा प्रमुख, कृषि बिकास निर्देशनालयका बिज्ञ अधिकारीहरु, कृषि ज्ञान केन्द्रका प्रमुखहरु, बिऊ उत्पादक कृषि सहकारी तथा कम्पनीहरुका जिम्मेवार अधिकारीहरु, भेटेनरी तथा पशुसेवा कार्यालयका प्रमुखन लगायतको उपस्थितिमा ऐनको मस्यौदामाथी बिस्तृत छलफल गरिएको हो । बिऊ बिजन प्रयोगशाला खजुराका कृषि अधिकृत अनिल चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कृषि बिकास अधिकृत दिनेश भट्टराई र बरिष्ठ वाली बिकास अधिकृत शालीकराम गौतमले गरेका थिए ।