दाङ । नेपाल मगर संघ लमही नगर समितिले माघे सकराती मिलन तथा समापन कार्यक्रम शनिबार लमहीमा सम्पन्न गरेको छ ।नेपाल मगर संघ लमही नगर समितिका अध्यक्ष जगत पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघ दाङ जिल्लाका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार जित बहादुर बुढा मगरको प्रमुख आतिथ्यता एवं लमही नगरपालिका कि उपप्रमुख लक्ष्मी योगीको विशिष्ट अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाले नेपाल मगर संघ भारतीय सेनाबाट रिटायर भएका लाहुरेहरूले गठन गरेर यहाँसम्म ल्याइ पुर्याएको बताएका छन्।मगरहरू भारतीय सेनामा भर्ती भइसकेपछि उनीहरू रिटायर भएर नेपाल फर्किसकेपछि शिक्षाबाट वञ्चित रहेका बालबालिकाहरूलाई शिक्षा प्रदान गरेर अघि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ २०१२, १४ सालदेखि निरन्तर नेपाल मगर संघ स्थापना भएको बताए ।
त्यस्तै २०३९ सालमा ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन तथा अधिवेशन दमौलीमा भएको र उक्त अधिवेशनबाट क्याप्टेन हेमबहादुर पुन मगरको नेतृत्वमा नेपाल मगर संघले गति ल्याएको प्रमुख अतिथि बुढा मगरले जानकारी दिए । पञ्चायती काल निरङ्कुश कालरात्रीमा पनि मगर संघलाई जाग्रत बनाउँदै अध्यक्ष हेमबहादुर पुन मगर हिँडेको
बुढा मगरले बताए ।
यसैगरी २०४५ सालमा दोस्रो केन्द्रीय सम्मेलन दाङको भरतपुरमा पूर्व एसपी रामशरण थापा मगरको ठूलो आँगनमा सम्मेलनको भेला बसेको र उक्त भेलामा आफूपनि सहभागी हुन अवसर पाएको र त्यसपश्चात मगरसंघमा निरन्तर आफू लागि परेको बताए । दोस्रो सम्मेलनबाट अरु केन्द्रीय अध्यक्षमा आइसकेपछि क्याप्टेन हेमबहादुर पुनमगरले एउटा स्मारिकामा ‘हे मगर हो,जाग अब आफ्नो अधिकारका लागि’ भन्ने लेखबाट आफू प्रभावित भएर लागि परेको बुढा मगरले बताए । उनले अब आआफ्नो स्थानबाट लाग्न पनि कार्यक्रममा सहभागी सम्पूर्ण मगरहरूलाई आग्रह गरे । मगरको छुट्टै संस्कृति छुट्टै पहिचान र संस्कार भएको र यो संस्कारलाई निरन्तर रुपमा बचाइ राख्न र पुस्तान्तरण गर्नलाई पनि मगरहरू एकजुट भएर लाग्न जरुरी रहेको बुढा मगरले बताए ।त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि योगीले मगरहरूको संस्कार, संस्कृति, भेषभुषा,पहिचान फरक किसिमको रहेको र यो संस्कृतिलाई बचाउन जरुरी रहेको पनि बताएकी छिन् । नेपाल बहुजातीय बहुभाषिक,बहुसांस्कृतिकको धरोहरको रुपमा रहेको एउटा मुलुक भएको हुँदा राज्यले यसको संरक्षण गर्न जरुरी रहेको पनि उपमेयर योगीले बताइन् ।
यस्तै उनले नेपाल मगरसंघ लमही नगर समितिको लागि आफूले उपमेयरसँगको कार्यक्रम बजेट अन्तर्गत पन्चेबाजाको लागि आवश्यक बजेट छुटाइदिएको पनि बताएकी छिन् । त्यस्तै नेपाल मगर संघ लमही नगर समितिलाईलाई निरन्तर सहयोग गर्ने पनि बताएकी छिन् ।
मगर संघ लमहीका सल्लाहकार बाबु रोका मगरको
स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा,गोरक्ष टोल विकास समितिका अध्यक्ष दिलबहादुर रोका मगर,कानूनी व्यवसायी दिपक थापा मगर लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा धनुस वान हान्ने र घैंटा फोड कार्यक्रम भएको थियो । त्यस्तै तिहारमा दिउसि भैलो खेल्दा ५ हजार बढी दान दिने दान दातालाई सम्मान गरिएको थियोे भने भैलो कार्यक्रममा रातदिन नभनी भैलो खेल्नेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियोे ।कार्यक्रमको संचालन नेपाल मगर संघ लमही नगर समितिका सचिव टिका घर्ती मगर( सिधान्त)र समितिकि सदस्य तथा मगर समाज लमहीकि उपाध्यक्ष रमा घर्ती मगरले संयुक्त रुपमा संचालन गरेका थिए ।
त्यस्तै उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष जगत पुन मगरले लमहीमा रहेका मगरहरूलाई एकजुट बनाएर अघि बढिरहेको बताएका छन् । उनले आफ्नो कला,संस्कृति, भेषभूषालाई प्राथमिकता दिँदै मगर जनसमुदायहरूलाई एकजुट बनाएर आगामी दिनमा अझै प्रभावकारी ढंगले अघि बढ्ने बताएका छन् । जितबहादुर बुढा मगरको हरेक सल्लाह सुझावबाट आफू प्रभावित भएर निरन्तर अघि बढेको पनि अध्यक्ष पुन मगरले बताए ।
यस्तै उनले लमही नगरपालिकाभित्र रहेका सम्पूर्ण मगर जनसमुदायहरूको हकहितका लागि आगामी अधिवेशनबाट संघलाई अझै मजबुत बनाएर अघि बढाउने खालको नेतृत्वकर्ताको पहिचान गरेर अघि बढाउने समेत बताएका छन् । उनले विभिन्न किसिमका तालिमहरू प्रदान गर्दै भाषासम्बन्धी प्रशिक्षणको व्यवस्थापन गरेर नगरभित्र रहेका मगरहरूलाई उचित तालिम प्रदान गर्ने समेत जानकारी दिए ।दुई कार्यकालसम्म लमही नगर समितिको नेतृत्व सम्हालेका पुन मगरले आफूले एक नम्बर वडादेखि नौ नम्बर वडा भित्रका मगरहरूलाई गोलबन्द गरेर अघि बढ्ने प्रयत्न समेत गरेको बताएका छन् । मगर जनसमुदायहरू हरेक कोणले आफ्नो हक अधिकारबाट पछाडि परेको र राज्यसँग ती अधिकार हरू प्राप्तिका लागि अब संगठित रुपमा अघि बढ्नुपर्ने समय आएको समेत अध्यक्ष पुन मगरको भनाइ रहेको छ ।