दाङ । देउखुरीको लमहीमा आईतबारदेखी शुरु भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशले जित हाँसिल गरेको छ ।
सुदुरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णाली प्रदेशले बिजयी शुरुवात गरेको हो । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम प्रदेश २१ ओभरमै सवै विकेट गुमाउदै मात्र ७६ रनमा समेटियो । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको कर्णाली प्रदेशले ४० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५५ रनको योगफल तयार गर्यो ।
योगफल तयार गर्न कर्णालीका अर्जुन घर्ती मगरले सर्बाधिक ७१ रनको योगदान दिए ।त्यस्तै दिनेश अधिकारीले १७ रन, दीवान पुनले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीलाई सामान्य लक्ष्यमा रोक्न सुदुरपश्चिमका हेमन्त धामीले महत्वपूर्ण ४ विकेट लिए । त्यस्तै नारायण जोशीले २ विकेट लिदा शेर मल्ल, मिलन बोहोरा, भोजराज भट्टले समान १/१ विकेट लिए ।
त्यस्तै १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले पहिलो ५ ओभर विना विकेटको क्षतिमा ३० रन बनाएर सुखद शुरुवात गरेपनि त्यसपछि विकेट पतन नराेकिँदा हार व्यहाेर्नु पर्यो । सुदुरपशि्चमका कुनै पनि ब्याटर क्रिजमा टिक्न नसक्दा पराजित हुन पर्यो । सुदूरपश्चिमलाई ७६ रनमा समेट्न कर्णालीका दीपेन्द्र रावतले सर्बोत्कृष्ट प्रदर्शन गर्दै ९ ओभरमा ३ मेडन सहित ३३ रन खर्चेर महत्वपूर्ण ७ विकेट लिएपछि जीत हाँसिल गरेको हाे ।
त्यस्तै दीवान पुनले २ विकेट लिए । सुदूरपश्चिमका लागि खडक बोहोराले २७ रन, किरण ठगुन्ना र शेर मल्लले समान १३/१३ रनको योगदान दिएपनि टिमलाई जित दिलाउन सकेनन् । उनी ब्याटर बाहेक सुदूरपश्चिमका अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । कर्णालीलाई महत्वपूर्ण जीत दिलाउन ७ विकेट लिएका दीपेन्द्र रावत प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिता ५०/५० ओभरको भएपनि समय अभाबका कारण ४३ ओभरमा घटाईएको थियो । प्रतियोगिता अन्तरगत सोमबार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश बीच प्रतिष्प्रधा हुनेछ ।
दाङ सहितमा रुपन्देहीकाे सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिता आगामी चैत १६ गतेसम्म चल्नेछ । ३ विभागीयसहित सात प्रदेश टीम सहभागी प्रतियोगिताका खेलहरु राउण्ड राेविनका आधारमा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
यसैबीच,प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ब्याटिङ र नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरिएको हो। प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए । खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलोपटक लुम्बिनी प्रदेशमा मात्र प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए ।