काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन नजिकिएसँगै तालाबन्दी गर्ने क्रम समेत बढेको पाइएको छ ।
संगठनभित्रकाे आन्तरिक विवाद,विद्यार्थी भर्ना प्रक्रियामा असन्तुष्टि,उम्मेदवार मनोनयनमा विवाद जस्ता कारणले विद्यार्थी संगठनहरू तालाबन्दीमा उत्रिएका हुन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी,अनेरास्ववियू लगायतका विद्यार्थी संगठनहरूले विभिन्न कलेजहरूमा तालाबन्दी गरेका छन् ।
यस्तै नेविसंघले काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न कलेजमा तालाबन्दी गरेको छ। त्यस्तै अनेरास्ववियुले समेत विभिन्न कलेजहरूमा तालाबन्दी गरेको छ । त्रिविको आङ्गिक क्याम्पस शंकरदेव क्याम्पसमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूले तालाबन्दी गरेका छन् । स्ववियु काेषकाे दुरुपयोग गरेको भन्दै छानबिनको माग गरेर तालाबन्दी गरेका हुन् ।
त्यस्तै उपत्यका बाहिरका विभिन्न क्याम्पसहरूमा समेत अनेरास्ववियुले तालाबन्दी गरेको हो । अनेरा स्ववियुकाे तालाबन्दीका कारण ती कलेजहरूमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ । सुनसरी इटहरीको जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ ।
यस्तै नवलपुरका १० वटा स्ववियु निर्वाचन हुने क्याम्पस मध्ये ९ वटामा अनेरास्ववियु र अनेरास्ववियू (माधव नेपाल निकट) ले संयुक्त रूपमा तालाबन्दी गरेका छन् । एसपीएम कलेज गैडाकोट, जनक कलेज गैडाकोट, जनमुखी आदर्श बहुमुखी क्याम्पस, देबचुली बहुमुखी कलेज, जनज्योती कलेज, कुमारवर्ती बहुमुखी कावासोती, मध्यबिन्दु बहुमुखी क्याम्पस कावासोती, नवजागरण बहुमुखी क्याम्पस चोरमारा र आरुङ्गखोला बहुमुखी क्याम्पस अरुणखोलामा तालाबन्दी गरेको हो ।
नवलपुर अनेरास्ववियु र अनेरास्ववियूले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै अन्य संगठनहरूलाई मात्रै हित हुने खालका काम गर्दै आएको जनाएका छन् । पक्लिहवा कृषि क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त तालाबन्दी गरेका छन् । राममणि बहुमुखी क्याम्पस, रुपन्देहीमा अनेरास्ववियु एक्लैले ताला लगाएको छ ।
त्यस्तै तालाबन्दीका कारण ती कलेजहरूमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ । त्रिवि केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार अगाडि बढ्न नसकेपछि निर्वाचन अनिश्चित बनेको जनाएको हो ।