काठमाडौँ । जसपा नेपालका संयुक्त अरब इमिरेट्स (यूएई) इन्चार्ज पासाङ शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
दुबईमा आयोजित एक कार्यक्रमका बिच उनी माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र एसिया प्रदेश कमिटीका अध्यक्ष शनिकुमार ओलीले जानकारी दिए ।
त्यस्तै अन्तर्राष्ट्रिय आदिवासी जनजाति महासंघका अध्यक्ष एवं ग्लोवल एनआरएनएका अध्यक्ष पासाङ शेर्पालाई स्वागत गर्न आयोजित कार्यक्रममा नेपाली जनप्रगतिशील मन्च, युएईका अध्यक्ष लक्ष्मण खनाललगायतको सहभागिता रहेको थियो ।
यसैबीच एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको एकता अधिवेशन गर्नेथरी समझदारी बनेको छ । उच्चस्तरीय समितिका संयोजक शेष घलेको प्रमुख आतिथ्यतामा दुबईमा भएको अन्तरक्रिया कार्यक्रममा जुलाई २० मा एकताको अधिवेशन गर्नेगरी समझदारी बनेको एनसीसी समन्वयन समितिका संयोजक विनोद कुँवरले जानकारी दिए ।
यस्तै दुबईको कार्यक्रममा विकास शाही नेतृत्वको एनआरएनए र पासाङ शेर्पा नेतृत्वको एनआरएनए यूएईको सहभागिता थियो । शाही र शेर्पा दुबै जनाको सहभागिता रहेको कार्यक्रमबाट एकताको अधिवेशनमा जानेगरी समझदारी भएको कुँवरको भनाइ छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि घलेले सर्वोच्चको परमादेश र समितिले गराउनुपर्ने एकताको महाधिवेशनैपर्ने बाध्यताका सन्दर्भमा आफ्नो धारणा राखेका थिए । उनले सबै एनसीसीहरुलाई एकताको महाधिवेशनमा सहभागिताको आह्वान गर्दै यूएईको साथ र सहयोगका लागि आभार प्रकट गरे । उनले मार्च ३१ सम्म सदस्यता खुला गरिएको जानकारी गराउँदै सो बीचमा एनसीसीहरुको सक्रिय सहभागिताका साथ डेलिडेट्स दर्ताका लागि आग्रह समेत गरे । आफू एकताको महाधिवेशनकै लागि विश्व दौडामा रहेको बताउँदै विश्वभरका एनआरएनएहरुले देखाएको साथ र सहयोगका लागि आभार प्रकट गरे ।
यस्तै समितिका सदस्य तथा एनसीसी समन्वय समितिका संयोजक विनोद कुँवरले एनसीसीहरुमा एकताको माहोल बनेको आफूले पाएको भन्दै सर्वोच्चको परमादेश मान्नुको विकल्प नभएको बताए । उनले एकताको आफ्नो एजेण्डा दुबईमा पुष्टि भएको भन्दै खुसी प्रकट समेत गरे । समितिकी सदस्य जानकी गुरुङ, अभियन्ताहरु आरके शर्मा, केशव पौडेलसहितले एकताको महाधिवेशनको पक्षमा आफ्नो धारणा राखेका थिए । विकास शाहीले उच्चस्तरीय समितिलाई सहयोग गर्न सदस्यता आजैका मितिदेखि खुला गरेर बढीभन्दा बढी सदस्य बनाउन भूमिका खेल्ने बताए । पासाङले पनि सोही प्रतिबद्धता जनाउँदै एकताको विकल्प नभएको बताए ।
सो कार्यक्रममा पूर्वमन्त्री सुनिल थापाको समेत सहभागिता रहेको थियो । यस्तै अभियन्ता शनिकुमार ओली, यूएईमा कार्यरत विभिन्न दल निकट भात्रृ संगठनका नेताहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । रातोपाटी