दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर–९, खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
गएराति १ बजेतिर आगलागी सुरु भएकोमा आज साँझसम्म पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । तत्काल आगो नियन्त्रणमा आउने अवस्था नरहेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार उद्योगमा भएको आगलागी ८० प्रतिशत नियन्त्रणमा आए पनि बाँकी नियन्त्रण गर्न कठिन भइरहेको छ ।
त्यस्तै उद्योगमा प्रयोग गरिने लिक्विडमा आगो लागेकाले जति पानी हाल्दा पनि नियन्त्रण गर्न कठिन भएको लम्सालले बताए । उनका अनुसार आगो नियन्त्रणमा आउन अझै चार–पाँच घण्टा लाग्ने अनुमान छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले हाल उद्योगको मूख्य भागमा आगलागी भएकाले नियन्त्रण गर्न कठिन भएको बताए ।
यस्तै आगो नियन्त्रणका लागि छिमेकी तीन जिल्लाबाट पाँच वटा दमकल मगाइएको छ। कपिलबस्तुबाट २, बाँकेबाट २ र बर्दियाबाट १ गरी पाँच वटा दमकल बाहिरबाट र जिल्लाका तीन वटा दमकल गरी ८ वटा दमकलबाट आगो नियन्त्रणको प्रयास गरिएको छ ।
त्यस्तै उद्योगको आगो नियन्त्रणमा भन्दा पनि पहिले गाउँ बचाउन लाग्नुपरेको थियो । उद्योगको ५० मिटरसम्म बस्ती फैलिएको छ । १०० मिटरको आसपामा ७०–८० घरहरू रहेको र तिनलाई बचाउन पहिले लाग्नुपरेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । ‘आगलागी भएपछि पहिले कसरी बस्ती बचाउने र अनि उद्योगमा आगो नियन्त्रण गर्ने भन्ने भयो । त्यसैअनुसार हामीले अग्नि रेखा बनाएर बस्ती बचाउन सकेका छौँ’, उनले भने, ‘उद्योग बचाउन सकिएन ।’
यस्तै आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वन कार्यालयका कर्मचारी र स्थानीय सहभागी थिए । आगो नियन्त्रणमा सेना–प्रहरीमात्र २०० जना परिचालन भएको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिए ।
त्यस्तै आगलागीबाट एक अर्ब बराबरको क्षति भएको उद्योग संचालक जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार उद्योग जलेर ध्वस्त भएको संचालक बस्नेतले बताए । उक्त उद्योगमा दैनिक ७ सय जना कामदारले काम गर्ने गरेका थिए ।