दाङ । वन डढेलो नियन्त्रणका नाममा सरकारले डढेलो नियन्त्रण सचेतना सप्ताह कार्यक्रममा लाखौं रकम खर्च गरेको छ तर उपलब्धि शुन्य हुँदा सरकारी रकम बालुवामा पानी खन्याए जस्तै भएको नागरिकहरुले सर्बत्र गुनासो गर्न थालेका छन् ।
लामो समयको खडेरी र गर्मियाम तथा हावाहुरी सुरु भएपछि दाङका केहि राष्ट्रिय र सामुदायिक वन क्षेत्रहरुमा आगलागी सुरु भएको छ । वन डढेलोले दाङ जिल्लाका ८३ सामुदायिक वन र सो संग सटेका राष्ट्रिय वनहरु उच्च जोखिममा रहेको वन कार्यालयले आफै बताउँछ । वन डढेलो नियन्त्रणका नाममा बजार क्षेत्रमा बाजा बजाउने, प्रदर्शन गर्ने र होटलहरुमा गोष्ठि सेमिनार गर्ने कार्यले वन डढेलो कहिल्यै पनि नियन्त्रण हुन नसक्ने सामुदायिक वन उपभोक्ता महासंघ गढवाका अध्यक्ष नवराज शर्माले बताउनु हुन्छ ।
वन डढेलो नियन्त्रणका नाममा सरकारले बर्षेनी देशभर करोडौं रकम खर्च गरेको छ तर उपलब्धि शुन्य हुँदा सरकारी रकम बालुवामा पानी खन्याए सरह भएको वन संरक्षण अभियन्ताहरुको गुनासो रहेको छ । गर्मियाममा बर्षेनी जिल्लाका सबैजसो वनक्षेत्रहरुमा आगालागी हुन्छ । आगो आफै लाग्दैन, मान्छेले नै लगाउने गर्छन । वनमा लागेको आगो वस्तिमा पसेर वस्तिहरु समेत खरानी भएको तितो यथार्थ गतबर्ष देउखुरीको राजपुर गाउँपालिकाको हाडबास गाउँ ज्वलन्त उदाहरण छ ।
सरकारका निकायहरु सुविधा सम्पन्न होटलमा बसेर गोष्ठि सेमिनार गर्छन र बजारमा बाजा बजाएर प्रदर्शन गरि टेलिभिजन च्यानलमा प्रसारण गर्छन तर वन क्षेत्रमा आगलागी हुने क्रम कहिल्यै रोकिन सकेन–गढवा गाउँपालिका ६ निवासी डेगमान जिसीले बताए । बजेट यस्तै तामझाममा सकिन्छ तर उपलब्धि भने शुन्य हुन्छ । बजारमा नारा जुलुस गरेर तथा होटलमा गोष्ठि सेमिनार गरेर वनमा लागेको डढेलो नियन्त्रण हुदैन–स्थानीय रमेश न्यौपानेले भने । गढवाकै कुरा गर्ने हो भने स्थानीय सरकारले सर्बोदय सामुदायिक वन क्षेत्रमा अब्यवस्थित ढंगले फोहर फालेको छ । हामी वनका पदाधिकारी बारंवार गाउँपालिकामा पुगेर फोहर ब्यवस्थापन गर्न आग्रह गर्यौं तर स्थानीय सरकारले सुन्दैन । वनमा डम्पिङ साईट निर्माण नगरेरै अब्यवस्थित ढंगले फोहर फाल्दा आगलागिको उच्च जोखिम बढेको छ, स्थानीय सरकार यस बिषयमा गंभिर बन्नुपर्छ –सर्बोदय सामुदायिक वनका अध्यक्ष धर्मराज पाण्डेयले बताए ।
प्रदेश सरकारको वन वातावरण मन्त्रालय,जिल्ला वन कार्यालय र डिभिजन वन कार्यालयहरुले शुन्य वन डढेलो अभियान चलाएर सामुदायिक वन समूहहरुलाई सकृय बनाए पनि वन क्षेत्रहरुमा आगलागि नियन्त्रण हुन सकेन । लुम्बिनी प्रदेश सरकारको वन वातावरण मन्त्रालयले गत चैत्र १ देखि ७ सम्म वन डढेलो नियन्त्रण तथा ब्यवस्थापन सप्ताह अन्तर्गत बजार केन्द्रित बिभिन्न तामझामका कार्यक्रमहरु गरेको छ तर यस्ता कार्यक्रम र बजेट खर्च बालुवामा पानी हाले जस्तै भएका छन्, डढेलो नियन्त्रणको उपलब्धि शुन्य भएको छ–स्थानीय वातावरण प्रेमी नागरिकहरु गुनासो रहेको छ । वन वातावरण र जैविक विविधताको संरक्षण गर्न र वनमा आगलागि नियन्त्रण गर्न कानून समेत वनेका छन् तर कार्यान्वयन हुन सकेका छैनन् । वनमा आगो लगाउने ब्यक्तिको पहिचान गर्न र सजाँय गर्न सरकार र सामुदायिक वनहरुले सकिरहेका छैनन् ।
लामो खडेरी र हावाहुरी संगै दाङका वन क्षेत्रहरुमा आगलागि सुरु भएको छ । घोराही उपमहानगर अन्तर्गत २ नम्बर वडा रामपुर क्षेत्र ३ र ५ नम्बर वडाहरुमा रहेका सामुदायिक वनहरु, बंगलाचुलीको ८ नम्बरका वनक्षेत्रहरु, पश्चिम दाङ, देउखुरीका गढवाका दर्जन बढी सामुदायिक वनहरु राजपुरका अधिकांश वनहरु र राप्ती गाउँपालिकाका चुरे क्षेत्रका वनक्षेत्रहरु आगलागिको जोखिममा परेका छन् ।
कतिपय वनक्षेत्रहरुमा त आगलागी भैरहेको छ तर सरोकारवाला पक्षहरु वन डढेलो नियन्त्रण गर्न तर्फ कत्तिपनि भौतिक प्रयासहरु गरेका छैनन् –नागरिकहरुको सर्बत्र गुनासो छ । सरकारका वन संरक्षण गर्ने निकायहरुले वन डढेलो नियन्त्रण गर्न सामुदायिक वनहरुलाई नै सकृय बनाउन जरुरी रहेको स्थानीयहरु बताउँछन् । सामुदायिक वनहरुमा अग्नी रेखा निर्माण गर्ने, टेन्च खन्ने, पात पतिङ्गर ब्यवस्थापन गर्ने, वन समूहहरुलाई आगो निभाउने औजार, उपकरण र तालिमहरु दिने तथा जोखिम क्षेत्रकै समुदायमा पुगेर सचेतनाका कार्यक्रमहरु गर्ने र आगो लगाउने ब्यक्तिको पहिचान गरी कानून सम्मत कार्वाही गर्नुपर्ने आवश्यकता भएको स्थानीय जानकारहरु बताउँछन् ।