बारा । बारामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२१ स्थितबाट ११.६८ किलो लागुऔषध चरेस सहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीले मोटरसाइकल र लागुऔषध चरेस सहित मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–६ का ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा जाँच गर्दा मोटरसाइकलबाट ठूलो परिमाणमा चरेस बरामद भएको बारा प्रहरीले जनाएको छ ।
हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा ४८ प ९३३ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकललाई रोकेर जाँच गर्दा सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा चरेस जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । तौल गर्दा प्लास्टिक सहित उक्त लागुऔषधको तौल ११.६८ किलो रहेको पुष्टि भएको छ।
त्यस्तै पक्राउ परेका थिङलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी जनाएको छ।