दाङ । गुरुकुल एकेडेमी लमहीले पत्रकार सम्मेलन गर्दै आगामी शैक्षिक सत्र २०८२ को योजना मंगलबार सार्वजनिक गरेको छ ।
विद्यालयले शिक्षालाई व्यवहारिक,जीवनमुखी र समाजसँग जोड्ने उद्देश्यका साथ नयाँ योजना अघि सारेको जनाएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरेले विद्यालय स्थापना शिक्षालाई जीवनमुखी बनाउने,पूर्ण मानव निर्माण गर्ने,परम्परा र प्रविधिको संगम गराउने,समावेशी र गुणस्तरीय शिक्षा दिने उद्देश्यले गरिएको जानकारी दिए। उनका अनुसार अब लमहीमै कक्षा ९ सम्मको पढाइ सञ्चालन गरिनेछ ।
कार्यक्रममा प्रधानाध्यापक सुरज खनालले विद्यालयले स्थापना भएको एक वर्ष पूरा गरिसकेको जानकारी गराउँदै पहिलो शैक्षिक सत्र सफलतापूर्वक सम्पन्न गरिएको बताए । उनले शिक्षालाई मात्र सेतो ह्वाइटबोर्ड र मार्करमा सीमित नराखी व्यवहारिक सिप, सामाजिक ज्ञान र नेतृत्व क्षमताको विकासमा जोड दिइएको बताए । विद्यालयले आत्मनिर्भर, नेतृत्वशील र सामाजिक उत्तरदायित्व बोेकेका विद्यार्थी उत्पादन गर्न सफल भएको खनालले दाबी गरे । मन्टेश्वरी संयोजक काजल न्यौपाने र विद्यालय संयोजक एलिसा शर्माले सिकाइको वातावरण उत्साहजनक रहेकाले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्न विद्यालय सफल भएको धारणा राखे ।
शैक्षिक निर्देशक अपर्णा घोषले विद्यालयमा नैतिक शिक्षालाई विशेष प्राथमिकतामा राखेर कार्य भइरहेको बताए । साथै शैक्षिक सत्र २०८२ को भर्नाका कार्यक्रमको लागि विद्यालयले विशेष छुटको ब्यबस्था गरेको पनि विद्यालयले बताएको छ । लमही उद्योग बाणिँज्य संघ, च्याम्बर अफ कमर्स , बैँक तथा बित्तिय संस्था,एनजिओ ÷आइएन्जिओ तथा नेपाल पत्रकार महासंघका सदस्यहरुको लागि भर्ना शुल्कमा १० प्रतिशत छुट गरीने विद्यालयले जानकारी दिएको छ । त्यसको लागि सम्बन्धित संस्थाबाट सदस्यताको सिफारीस लिएर आउनुपर्ने पनि विद्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा पत्रकारहरु केपी घिमिरे,लिला शाह, दशरथ घिमिरे,भानु जोशी लगायतले जिज्ञासा राखेका थिए ।
विद्यालय सञ्चालक समितिका सदस्य कमलजंग सिंह ठकुरीले मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजकिरण विद्यालयका प्रशासन प्रमुख सतिस पौडेलले गरेका थिए ।