काठमाडौं । काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएकाे छ ।
त्यस्तै प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो । यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।
यस्तै उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि प्रहरीले समय मागेको हो । भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको हो ।