म अहिले यूएईको अबुधाबी ईमिरेट्स स्थित अल ऐन भन्ने ठाउँमा छु ।तर, म हाल यहाँ बस्दिनँ, यो देशमा काम गर्दिनँ भनेर स्वतन्त्र हिसाबले बस्न थालेको पनि २० दिन भैसक्यो । म घर फर्कन चाहेर कानुनी रुपमा स्वतन्त्र भइसकेको मान्छेले पनि घर फर्कन पाइनँ । कस्तो बाध्यता भनौं या परिस्थिती ।
आजसम्म केही भएको छैन, आराम छु । यदि केही भइहाल्यो भने मलाई झन पछुतो हुनेछ । म आफ्नो देश फर्कन चाहँदाचाहँदै पनि फर्कन नपाउँदा मलाई केही भयो भने मेरो जन्म देशको संयन्त्रलाई पाप लाग्ने छ । जस्तो भए पनि म मेरै देशमा रोगसँग लड्न चाहन्थें ।रोगसंग मुकाबिला गर्न चाहन्थे। तर मलाई यहाँ बस्नुपर्ने बाध्यता छ ।
म पञ्छीजस्तो स्वतन्त्र हुन चाहेर सबै कुरो त्यागेर आउन खोज्दा पनि नपाउने किन होला ?
मेरै गाउँघर, पाखापखेरामा मरे पनि बाँचे पनि मेरै देश, मेरै आफन्त र मेरै माटोमा मर्न चाहन्थेँ । तर परदेशमा मानसिक र शारीरिक तनाव एक्लोपन हरेक कुरोले सताएको छ ।यो परदेशीको दुख बुझ्ने कस्ले?
म यो देशमाभन्दा मेरै भिरपाखोको हावापानीमा बढी सुरक्षित हुन्थें । मेरो रोगसँग लड्ने क्षमता र मानसिक रुपमा स्वस्थ पनि म मेरै देशमा हुन्थें जस्तो लाग्छ ।
हो पनि, अरुको लाख भन्दा त आफ्नाको काख नै प्यारो हुन्छ नि । कोरोनालाई त मेरो देशमा थिएँ भने आत्मबलले नै जित्थें जस्तो लाग्छ । तर के गर्नु परदेशमा निरीह भएर बाँच्न परेको छ ।
यहाँ जोखिम बढी छ । मेरो देश, मेरो माटो, मेरो हिमाल, मेरो जननी, मेरा आफन्त, शुभचिन्तक र जन्मभूमीलाई धेरै सम्झिरहेको छु ।
विदेश बस्ने हरेक नागरिकलाई अहिले कोरोनाको पोको भन्ने ठान्छन् समाजले । के हामी कोरोना हो र ?
हामीले कमाउँदा सबैको प्यारो । आज दुःखमा चाहिँ कोरोना ? कस्तो सोच ? हरेक देशले आफ्ना नागरिक विमान चार्टर गरी गरी लगेका छन् । तर हामी त टिकट काटेर फर्कन्छु देशले जारी गरेका नियम मान्छु भन्दा पनि एक्लै बस्न परेको छ ।
भिसा सकिएर बिरानो देशमा पिञ्जडामा झैं थुनिएकाहरु कहिले फर्कन पाउँछन् सरकार ? न खानाको टुङ्गो, न बस्नको टुङ्गो । यसरी कतिन्जेल बाचौंला र । कोरोना लागेर मरे पनि खान नपाएर अरु रोगले मरे पनि मृत्युको मूल्य उही होइन र ?श्रमिकलाई नै कोरोनाको पोको ठान्ने यो कस्तो सोच?
विदेशीलाई रोके पनि आफ्नो देशको अर्थतन्त्र धान्नेलाई त माया गर । विदेश बस्नेलाई किन कोरोना भाइरस नै भन्ने ठानेको ? किन हाम्रो गुन नेपाली समाज र सरकारले बिर्सिएको ?
भारतको नाका बन्द गर्नु, चीनको नाका बन्द गर्नु, बिमानस्थलमा चेकजांच राम्रोसँग गर्नु, हामीलाई सेल्फ क्वारेण्टाईनमा राख्नु, हामी मान्छौंं नि नियम । मेरो आफन्त अरु देशले चार्टर गरेर आफ्ना नागरिक लगेको जहाज हेर्दै मेरो बाटो कुरिरहेका छन् । हामी यहाँ कोरोनाको जोखिमसँगै मानसिक यातना सहेर बसिरहेका छौं ।रोइरहेका छन् ।चरी आफ्नु गुड नफर्किएर कहाँ जान्छ? हामी हाम्रो देश कहिले फर्कन पाउँछौं सरकार ?
सिन्धुपाल्चोक, हाल यूएई ।