Sidha Patra सोमबार, भाद्र ०७, २०७८

काठमाडौं । न उनी भैंसी पाल्ने बलराम हुन्, न जँड्याहा । तर, यही दुई उपमाले उनी सर्वत्र चिनिए । एउटा यस्तो समय थियो, जतिबेला टेलिशृंखलादेखि सिनेमासम्म ‘जँड्याहा पात्र’ चाहिएमा कमल गाउँलेको खोजी हुन्थ्यो । के उनी जँड्याहा थिए ? होइन । बरु कमलको अभिनय चाहिं कमालको थियो ।

रक्सीले टिल्ल भएको अभिनय उनले कति स्वाभाविक रूपमा गर्थे भने, रमितेलाई लाग्दो हो उनी वास्तवमै जँड्याहा हुन् । पछि एउटा गीत खूब चल्यो, ‘गर्नु गर्‍यौ बलराम भैंसी पालेर’ । दूधमा पानी मिसाएर बेच्ने चतुर बलरामको रूपमा पनि उनी चर्चित भए । बलराम, जँड्याहा पोई, देउराली भट्टी पसल जस्ता गीतले कमललाई बेग्लै फ्रेममा स्थापित गरिदियो । तर, उनको ख्याति यत्तिमा सीमित छैन । खासमा त कमल गाईजात्राका लागि बढी कहलिएका पात्र हुन् ।

गाईजात्रे कलाकार

जब–जब गाईजात्राको पारो चढ्दै जान्छ, कमल गाउँलेको राप पनि बढ्दै जान्छ । पछिल्लो दुई दशकदेखि उनी गाईजात्रे कार्यक्रममा अविच्छिन्न सक्रिय छन् । यो आफ्नो बिर्ता र धर्म हो भने जसरी उनले ‘गाईजात्रे’ कार्यक्रमको कर्मकाण्ड पूरा गर्दै आएका छन् । हरेक गाईजात्रामा कुनै न कुनै रोचक र घोचक प्रस्तुति ल्याउने गर्छन् । शम्भु दाहालबाट प्रेरित भएर उनले २०५७ सालदेखि गाईजात्रे प्रस्तुति निकाल्न शुरू गरेका थिए । त्यसयता उनले हरेक वर्ष एकल गाईजात्रे प्रस्तुति निकाल्दै आएका छन् ।

६० को दशक आसपास गाईजात्रे कार्यक्रम गर्ने होड हुन्थ्यो । प्यारोडीको बजार गुल्जार हुन्थ्यो । हरिवंश–मदनकृष्णदेखि दीपकराज गिरी, दमन रूपाखेतीसम्म भ्याई–नभ्याई हुन्थे । तर, समयक्रममा यसको राप सेलाउँदै गयो । गाईजात्रा गर्नेहरू पातलिंदै गए ।

पुरानाले छाडे, नयाँ आए । यो उपक्रम चलिरह्यो । तर, कमलले भने यो सिलसिला भंग गरेनन् । राजनीतिक, सामाजिक मुद्दाहरूलाई उनले हास्यव्यङ्ग्य मार्फत चोटिलो ढंगले पेश गर्दै आएका छन् । कमल भन्छन्, ‘राजाको शासनकालमा पनि गाईजात्रा निकालें । आज गणतन्त्र छ । यो २१ वर्षे अवधिमा मैले गाईजात्रा निकाल्न छाडिनँ ।’ भर्खरै मात्रै उनले २१औं गाईजात्रे प्रस्तुति ल्याएका छन्– ‘बाई लभ यू केपी बा’ । दुई तिहाइ सरकारको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन जस्ता विषयमाथि उनले कटाक्ष गरेका छन् ।

उनी आफ्नो गाईजात्रे प्रस्तुतिमा वर्षभरि भएका राजनीतिक, सामाजिक र विभिन्न घटनाक्रमहरूलाई समेटेर हास्यव्यंग्यका रूपमा प्रस्तुत गर्छन् । खासगरी राजनीतिक दल र नेताहरूमाथि उनी प्रहार गर्न रुचाउँछन् । ‘अरूबेला यसरी घोचपेच गरियो भने जेल जानुपर्छ’ कमल भन्छन्, ‘यही एउटा मौका आउँछ, त्यसलाई किन छाड्ने ?’ उनी तार सप्तकमा आवाज निकालेर गाईजात्रे प्रस्तुति गर्छन् । उनको विशेषता पनि यही हो । तार सप्तकमा गर्ने उनको गाईजात्रा प्रस्तुति बेजोड भइदिन्छ । त्यो शैलीमा भने उनी कलाकार शम्भु दाहालबाट प्रेरित भएका रहेछन् ।

सरगमा तीनवटा सुर हुन्छन् । मन्द्र सप्तक, तार सप्तक र मध्य सप्तक । उनको स्वर तार सम्तकमा छ । अर्थात् उनी ठूलो स्वरमा गाईजात्रा भट्याउन सक्छन् । गाईजात्राको संस्कृति क्रमशः हराउँदै गएको गाउँलेलाई भान भइरहेको छ ।

‘हिजो गाईजात्रा पर्वलाई जसरी मनाइथ्यो त्यो हराउँदै गएको हो कि भन्ने लाग्छ’ उनी भन्छन्, ‘गाईजात्रा हाम्रो परम्परा हो, संस्कृति हो । यसलाई बचाउने दायित्व हामी कलाकारको पनि हो ।’ हरेक वर्ष निकाल्ने गाईजात्रे प्रस्तुति मार्फत पनि यो संस्कृतिलाई निरन्तरता दिनुपर्ने गाउँले बताउँछन् ।

तर हास्य-व्यंग्यलाई राजनीतिक, सामाजिक विकृति विसंगतिमा गरिने व्यंग्यभन्दा पनि सस्तो मनोरञ्जनका रूपमा लिने गरेकोमा उनी दुःखेसो पोख्छन् । भन्छन्, ‘हामीले आफ्ना सिर्जना र प्रस्तुतिहरूबाट यो देश बन्नुपर्छ, नेताहरू सुध्रिनुपर्छ । भ्रष्टाचार रोकिनुपर्छ । देश विकास हुनुपर्छ । सबै वर्ग समुदायले शिक्षा र रोजगारी पाउनुपर्छ । र, यो महँगी नियन्त्रण हुनुपर्छ भनेर भनिरहेका हुन्छौं ।’ उनी थप्छन्, ‘हाम्रो प्रस्तुति र विषय मार्फत देश बनाउने कुरामा हामी लागिरहेका छौं । जहिले पनि देश बदल्ने कुरा गर्छौं । देश बनाउने कुरा गर्छौ ।’ २१ वर्षदेखि अविच्छिन्न गाईजात्रे प्यारोडी निकाल्दै आएका कमल गाउँलेका लागि यो एक नियमित कर्मकाण्ड नै भएको छ ।

हास्यव्यग्य अर्थात् ओखती

त्यस्तै उनी २१ वर्षयता गाईजात्रा गरिरहँदा ब्राण्ड नै भइसकेको उनी बताउँछन् । ‘हरेक वर्ष मेरो गाईजात्रा आउँछ । त्यो मेरो ब्राण्ड भइहाल्यो । यो निरन्तर आइरहनेछ ।’ गाईजात्रामा उनले भ्रष्टाचार विरुद्ध र नेताहरूले काम गरेनन् भन्ने जस्ता विषय उठाउँदै आएका छन् । यसबीच उनले नेताहरूको प्रवृत्ति माथि व्यंग्य गर्दै आए । तर के यसले साँच्चै नेताहरूको प्रवृत्ति फेरियो त ? जवाफमा उनको नाक खुम्चियो, ‘कहाँ फेरिनु । अहिले त झन् हरेक दिनजसो गाईजात्रा छ ।’उनका लागि हास्य-व्यंग्य विधा मात्र नभएर एउटा औषधि पनि हो । गाउँले भन्छन्, ‘ठूला–ठूला रोग लागेका मानिसहरूलाई हास्य–व्यंग्य औषधि जस्तै हो । यति ठूलो औषधि हो कि मानिस राम्रोसँग हाँस्यो भने कति रोगहरू नै लाग्दैन । तर हँसाउने भन्दैमा सस्तो हँसाउने होइन । भित्रैबाट खुशी भएर हाँस्नु हो ।’

प्रविधिसँगै परिवर्तन

शुरूआती चरणमा प्रविधि थिएन । उनले २०५७ सालमा पहिलो गाईजात्रा शृंखला निकालेका थिए । त्यतिबेला भिडियो हुँदैनथ्यो । अडियो क्यासेटमा सुन्न मात्र सकिन्थ्यो । त्यो समय उनी आफ्नो गाईजात्राको क्यासेट बेच्दै हिंड्थे । ठाउँ–ठाउँमा पुगेर आफ्नो क्यासेट किनिदिन आग्रह गर्थे । कतिले किनिदिन्थे, कतिले झर्को मान्थे । समयसँगै प्रविधिले फड्को मार्दै गएपछि गाईजात्रा अडियोबाट भिडियोसम्म आइपुग्यो । क्यासेटबाट भीसीडीदेखि युट्युबसम्म आयो । तीन वर्षयता भने उनी आफ्नै युट्युबबाट आफ्नो गाईजात्रा प्रस्तुति राख्दै आएका छन् ।

अभिनयसँगै वाद्यवादक पनि

अभिनय र गाईजात्रा मात्रै हैन, गाउँलेले वाद्यवादन पनि राम्रो बजाउँछन् । थुप्रै टेलिशृंखलामा उनले वाद्यवादकको काम पनि गरेका छन् । ‘ढुंगे बगर, माया ढुंगे बगर’ हरिवंश आचार्यको टेलिशृंखलामा उनले मादल बजाएका थिए । २०६० सालमा भएको मादल प्रतियोगितामा उनी सर्वोत्कृष्ट मादल बाधक भएका थिए । त्यसयता भने मादल प्रतियोगिता हुनसकेको छैन । उसो त २०५७ सालमा उनले रेडियो नेपालबाट स्वर पास गरेका थिए ।

दोहोरीमा दश वर्ष मादल बजाए

प्यूठानमा जन्मेका गाउँले सानो छँदा परिवारसँगै बसाइँ सरेर दाङ झरे । उनी दाङमा हुर्किए । सानोमा उनी चकचके स्वभावका । रसिक पनि । चुट्किला सुनाउथे । अरूको आवाज दुरुस्त नक्कल गर्थे । त्यसबाहेक उनमा खास खूबी थियो, मादल र सारङ्गी बजाउने । त्यही मादल र सारङ्गी बजाउने धुनले उनमा कला–मोह जाग्यो । उनी कलाकार बन्ने लहडले काठमाडौं हान्निए । काठमाडौंमा आएपछि कमललाई बाँच्ने आधार दियो, मादलले । उनी यहाँका लोकदोहोरीमा मादल घन्काउन पुग्थे । मादल बजाएरै उनको हातमुख जोर्ने मेलो मिल्थ्यो । दश वर्षसम्म उनी मादल बजाउँदै आफ्नो जीवनको धुन खोजिरहे । दोहोरी साँझमा उनी राति बजाउँथे र दिनभर सिनेमा एवं टेलिशृ ंखलामा अभिनय गर्ने मौका खोज्दै हिंड्थे । कति क्षण यस्ता पनि छन्, जहाँ उनी अभिनय गर्न नपाएर रुँदै फर्किएका पनि छन् । तर गाउँलेले कलाकार बन्ने सपना छोडेनन् ।

सपनाको बाटो पछ्याइरहे 

गाउँले सम्झन्छन्, ‘म्युजिक भिडियोहरूमा काम गर्दै जाँदा दीपकराज गिरीहरूले मलाई चिन्न थाल्नुभयो । काम गर्दै जाँदा हास्यव्यंग्यतिर गाँसिए । हरिवंश आचार्य, मदनकृष्ण  श्रेष्ठ, साम्दे शेर्पा, सन्तोष पन्त जस्ता अग्रज कलाकारहरूसँग चिनाजानी हुनपुग्यो । उहाँहरूसँग अभिनय गर्ने अवसर पाएँ ।’ यसरी उनले गिती भिडियोदेखि ‘तितो सत्य’ नामक टेलिशृंखला हुँदै ‘छ माया छ छपक्कै’ चलचित्रसम्म अभिनय गरे ।

गाउँ फर्किए गाउँले

मुलुकमा कोभिड संक्रमण शुरू भएसँगै उनी आफ्नै गृहजिल्ला दाङ फर्किएका छन् । दुईवटा गाईजात्रे प्रस्तुति उनले दाङमै तयार पारेका थिए । ‘गाउँ–गाउँमा सिंहदरबार’, ‘चाइनाको रेल’ र गत वर्ष मात्रै उनले मुलुकमा शुरू भएको कोभिड महामारीलाई जोडेर ‘के के हुने हो’ नामक गाईजात्रे प्रस्तुति हुँदै २१औं शृंखलासम्म ल्याएका छन् ।अनलाइन खबरबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]